राजनीति

तीन वडामा निर्वाचनको तयारी

चितवन – भरतपुर महानगरपालिका– १६ र खैरहनी नगरपालिकाका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी अघि बढेको छ। भरतपुर–१६ का वडाध्यक्ष चतुरमान गुरुङको असोज ४ गते क्यान्सरको उपचारका क्रममा निधन भएको थियो भने खैरहनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको २०७४ माघ ६ गते सवारी दुर्घटनामा निधन भएको थियो। तीनवटै वडामा नेकपा र नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएका छन्। कांग्रेसले भरतपुर १६ मा अमृत हमाल, खैरहनी ४ मा देवबहादुर बस्नेत र खैरहनी ५ मा प्रतिमा कार्कीलाई उम्मेदवार बनाउने भएको छ।

नेकपाले भरतपुर १६ मा भक्तराज हमाल, खैरहनी ४ मा वेदबहादुर अधिकारी र ५ मा पुननारायण प्रधान चुनावी प्रतिस्पर्धामा छन्। जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचन गराउन तयारी सुरु गरिसकेको छ। मतदाता नामवली संकलनको काम सकेर अन्तिम मतदाता नामावली समेत आईसकेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकाल बताउँछन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:४४ शुक्रबार

उपनिर्वाचन भरतपुर_महानगरपालिका