राजनीति

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्। नेविसंघका पूर्वसभापति नैनसिंह महरद्वारा लिखित पुस्तक सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच विमोचन गर्दै सभापति देउवाले सरकार राज्यका सबै संयन्त्रहरू आफ्नो हातमा लिएर सर्वसत्तावाद मार्फत कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। सर्वसत्तावादको खिलाफमा जनमत तयार गर्न पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने देउवाको भनाई छ।

यस्तै, महामन्त्री कोइरालाले जनतालाई सुसूचित गराउन यो पुस्तक उत्कृष्ट हुने बताए। उनले सरकारलाई बुझ्न नेता महरले लेखेको पुस्तक पढ्दा पर्याप्त जानकारी हुने धारणा राखेका थिए। उनले प्रत्येक नेपालीले सरकारका काला कर्तुतबारे जानकारी प्राप्त गर्न यो पुस्तक एकपटक पढ्नै पर्ने बताए। महामन्त्री कोइरालाले पुस्तकले प्रजातन्त्रको पक्षमा माहोल सिर्जना गर्नसमेत भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

लेखक महरले पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाइ काण्ड, भ्रष्टाचर काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधी काण्ड समेटेको जानकारी दिए। ‘सरकारको असली रुप जनतासामु ल्याएर सरकारका गलत कामको पर्दाफास गर्न यो पुस्तक लेखिएको हो’, उनले भने। उनले अहिलेसम्म कुनै पनि सरकारले वर्तमान सरकारको जस्तो काण्डै–काण्ड नगरेको तर वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी हुनुभन्दा दुई तिहाइको दम्भमा एकपछि अर्को काण्ड गर्दै अगाडि बढेकाले आफू पुस्तक लेख्न बाध्य भएको स्पष्ट पारे। 

अन्य वक्ताहरूले नेपाली कांग्रेसले इतिहासमा नै पहिलोपटक डकुमेन्टेसन गरेर सरकारको कम्युनिस्टकरणको पर्दाफास गर्न ‘काण्डै–काण्ड’ नामक पुस्तक प्रकाशन भएको चर्चा गरेका थिए। देशभरका महाधिवेशन प्रतिनिधि, जिल्लाका भातृ संस्था, जिल्ला अध्यक्ष पदाधिकारी, स्थानीय प्रदेश र संघमा कांग्रेसबाट बनेका उम्मेदवार र शुभेच्छुकको नाममै पुस्तक घर घरमा पुर्याउने योजना रहेको पार्टीले जनाएको छ।

कांग्रेसको दोस्रो जागरण अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनमा एकसाथ पुस्तक सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ६ आश्विन २०७६ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App