राजनीति

गाउँपालिका अध्यक्ष नेकपाबाट निलम्बित

रामेछाप  - जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद लम्बिँदै गएपछि एक जनप्रतिनिधिसँग अर्को जनप्रतिनिधि नै डराएर हिँडनुपर्ने अवस्था आएको छ। एक जनप्रतिनिधि अर्को जनप्रतिनिधिसँग एक्लै भेटन सक्ने अवस्था नहँुदा सिंगो पालिका नै प्रभावित बनेको छ।

स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका पालिका अध्यक्ष गोविन्द खडका र एमालेबाट नै निर्वाचित उपाध्यक्ष दीपशिखा दाहाल तथा वडाध्यक्ष सुभास बोहोरा बीचको विवाद चुलिएर अदालत र नेकपाको जिल्ला कमिटी हुदै प्रदेश कमिटीसम्म पुगेको छ। कार्यपालिकाका सदस्यबीचमा नै बेमेलको अवस्था हुँदा पालिकाका प्रायः गतिविधि प्रभावित बन्दै गएका छन। लामो समयदेखि पालिकाको बैठकसमेत बस्न सकेको छैन। एकातिर जनप्रतिनिधिको विवाद चुलिँदो छ भने सर्वसाधारणमा अन्योलता परेका छ।

गाउँपालिका अध्यक्षको कार्यशैलीप्रति एकै समूहबाट पालिकामा निर्वाचित उपाध्यक्ष दीपशिखा दाहाल र वडाध्यक्ष सुभास बोहोरालगायतले पटकपटक आपत्ति जनाउँदै आएका थिए। उनीहरूले अध्यक्षको एकाधिकारको पटकपटक प्रत्यक्ष रूपमा पनि खेद जनाउँदै आएका थिए। पालिका अध्यक्षले देखाउने व्यवहार पार्टीको हितविपरीत भएको भन्दै पार्टी नेतृत्वमा समेत पटकपटक जानकारी गराउँदै केही जनप्रतिनिधिले खड्कालाई सच्याउन आग्रहसमेत गरेको नेकपा नेतृत्व स्रोतले बताएको छ।

गाउँपालिकाको वडा नं १ मा पर्ने जिल्लाको दुर्गम गाउ दुरागाउँमा भएको विद्युतीकरण सन्दर्भमाा गत साउन १६ गते पालिकाको बैठकमा दुई पक्षमा मतान्तर भएपछि पालिकाको विवाद उत्कर्षमा पुगेको हो। केही महिनाअघि भएको दुरागाउँ विद्युतीकरणका लागि १२ करोड ४४ लाखभन्दा माथि खर्च भएको नपुग ७ कराेड रुपैयाँ थप बिनियोजन गर्नुपर्ने प्रस्ताव पालिका अध्यक्ष खड्काले राखेका थिए। खड्काको प्रस्ताव खण्डन गर्दै वडाध्यक्ष सुभास बोहोरासहित बहुमत कार्यपालिका सदस्यले विद्युतीकरणको कामको अनुगमन मूल्यांकन गरेर मात्र थप रकम बिनियोजन गरिनुपर्ने अडान लिएका थिए। दुई पक्षको प्रस्तावमा छलपफल चलिरहँदा पालिका अध्यक्षले आफ्नो काममाथि शंका गरेको भन्दै पालिका अध्यक्षले वडाध्यक्ष सुभास बोहोरा र प्रमुख प्रशाकीय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहारको प्रयास गरेपछि विवाद चुलिँदै गएको हो।

पालिका बैठकमा भएको विवादपछि पालिका अध्यक्ष एकातिर बनेका छन् भने उपाध्यक्षसहित वडाध्यक्ष र अन्य जनप्रतिनिधि अर्कोतर्पm बनेपछि पालिका प्रभावित बनेको छ। आफूहरूले पालिकाको काम पारदर्शिता र नितिसंगत हुनु पर्छ भनेर आवाज उठाउँदा पालिका अध्यक्षलाई आपत्ति भएको लिखुतामाकोसी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष सुभास बोहोराले बताए। उनीहरूबीच कुटाकुटसमेत भएको थियो।

पालिकामा कुटाकुटको अवस्था आएपछि एकअर्काको विरोधमा रहेका दुवैपक्षको विवाद केही समयअघि स्वयंभूमा भएको गोलीकाण्डपछि थप चर्चामा आएको थियो। लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षले केही व्यक्तिले मोटो रकम माग गर्दै रकम नदिए छोरीको अपहरण गर्ने धम्की दिएको भन्दै प्रहरीकहाँ पुगेका थिए। खड्काले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिको खोजी गर्न सर्च अप्रेसन सञ्चालन गरी गएको साउन २४ गते स्वयंभूमा ती व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको थियो। प्रहरीले गोली चलाई घाइते बनाएर मिलन तामाङ र अमृत तामाङलाई समातेको थियो। समातिएका व्यक्तिले गाउँपालिकाकी उपाध्यक्ष दीपशीखा दाहाल र वडाध्यक्ष सुभास बोहोराको निर्देशनमा त्यो काम गरेको आरोप लगाएका थिए। तर यता आरोप लगाइएका दाहाल र बोहोराले आफूहरुलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको बताउँदै आएका छन।

यता गाउँपालिका अध्यक्षले अन्ततः पालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल, वडाध्यक्ष सुभास बोहोरासहित ५ जनाविरुद्ध सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडांैमा मुद्दासमेत दर्ता गरेको बताइएको छ। घटनाका विषयमा आफूले निवेदन दिएको र प्रहरीले समातेको व्यक्तिका वयानका आधारमा मुद्दा अघि बढेको खड्काले बताए।

अध्यक्ष खड्का नेकपाबाट निलम्बित
नेकपाकै धारमा रहेका लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद चुलिँदै गएपछि नेकपमा जिल्ला नेतृत्वसमेत दुई भागमा विभाजित बनेको थियो। एकथरि जनप्रतिनिधिले गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग गरेर पालिका हुँदै जिल्ला नेतृत्वसम्म पु¥याए। जिल्ला नेतृत्वमा पनि दुईथरिका विचार हुँदा समस्या भएको लिखु तामकोसीका नेकपाका नेता दुर्गा श्रेष्ठले बताए।

उनले नेताको नाम उल्लेख नगरे पनि जिल्लाकै ठुलै नेतृत्वसमेत दुई खेमामा विभाजित भएको अवस्थामा जिल्लाले कारबाहीका लागि सिफारिश प्रदेश कमिटीमा सिफारिश गरेको बताए। जिल्लाका सिफारिशका आधारमा प्रदेश कमिटीको भदौ १९ को बैठकले खड्कालाई निलम्बन गर्ने निर्णय गरी निर्णय तत्कालै कार्यान्वयन गर्न भदौ २२ मा प्रदेश कमिटीले जिल्लालाई पत्राचार गरेको थियो।

प्रदेश कमिटीले गरेको निर्णय बमोजिम पार्टीका सम्पूर्ण जिम्मेवारीबाट तत्कालका निलम्बन गरिएको पत्र जिल्ला कमिटीले खड्कालाई पठाएको नेकपा जिल्ला कमिटीका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए। नेकपा जिल्ला कमिटीले ९ वटा बुँदासमेत समावेश गरी खड्कालाई निलम्बन गरिएको पत्र पठाएको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०३:५४ आइतबार

जनप्रतिनिधि अदालतद निलम्बित प्रदेश_कमिटी