राजनीति

संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कस्ले कतिखेर सपना देख्छ त्यतिबेलै संविधान संशोधन नहुने बताएका छन्।

बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले औचित्य र आवश्यकताका आधारमा मात्रै संविधान संशोधान हुने बताए। उनले अहिले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए।

‘जे अघि बढेको छ त्यसरी नै अघि बढ्छ। क्रमशः कार्यान्वयनमा जानुपर्छ,’ संविधान संशोधनबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘कसले कतिखेर सपना देख्छ त्यतिबेला संशोधन गर्नुप‍¥यो भनेर भएन नि। सपना त दिनमै सयौं, हजरौं देख्न सकिन्छ। देखेजति सबै सपना पूरा हुन्छन् ?’

खाइपाइ आएको सत्ता गुमेपछि संविधान च्यात्न लागेको आरोप लगाउँदै मन्त्री बाँस्कोटाले उनीहरुले संविधान च्यात्न नसकेकर चुप लागेर बसेको दाबी समेत गरे। ‘खाइपाइ आएको सत्ता गुमेकालाई यो संविधान च्यात्नै परेको छ नि।

कसका लागि किन कुन धारा किन संशोधन गर्र्ने पहिले कार्यान्वयन गर्न दिउँ न,’ मन्त्री बाँस्कोटाले भने। उनले सरकारमा रहेका केही दल संविधान संशोधन नभए सरकारमा नबस्ने भन्ने कुरामा सत्यता नभएको पनि बताए।

‘भइरहेको सत्ता शक्ति छोड्लान जस्तो मलाई लाग्दैन,’ उनले भने। उनले संविधानको कुन बुँदाले राष्ट्रिय स्वाधीनतामा बाधा गरेको छ भन्ने प्रश्न गर्दै राष्ट्रियतामा बाधा परेको भए संशोधन गर्ने उल्लेख गरे।

उनले यो संविधान कुनै रामायण नभएको बताउँदै अ‍ैचित्य र आवश्यकता पुष्टि भए संशोधन गर्न सकिने समेत बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०३:०३ शुक्रबार

गोकुल_बाँस्कोटा संविधान संशोधन