राजनीति

काँग्रेसलाई क्यान्सर हैन, जण्डिस भएको होः नेता केसी

सिन्धुली– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हाल नेपाली काँग्रेस पार्टीलाई जण्डिस भएको बताएका छन्। काँग्रेसका सिन्धुली जिल्ला तहका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसलाई क्यान्सर भएको र त्यसको उपचार खोज्न सुझाएपछि सम्बोधनका क्रममा नेता केसीले काँग्रेसलाई अहिले जण्डिस भएको अवस्थामा रहेको बताए। 

उदयपुरबाट काठमाडौं फर्कने क्रममा कार्यकर्ताहरुसँग भेट गर्दै केसीले काँग्रेस पार्टीले कसैको गुण अवगुण तथा हरियो रातो केही नदेखेर पहेलो मात्रै देखिने अवस्थामा पुगेको बताए। ‘काँग्रेसलाई जण्डिसमात्रै भएको हो, क्यान्सर भएको छैन’, उनले भने, ‘क्यान्सर भएपछि निको हुन्छ नै भन्ने हुँदैन।’ काँग्रेस पार्टी हाल चुनौतीपुर्ण अवस्थामा रहेको भन्दै नेता केसीले अब इतिहासको बखान गरेर मात्रै पार्टी नचल्ने जिकिर गरे। 

उनले काँग्रेसमा ‘हिङ नभए पनि हिङ बाँधेको टालो छ’ भन्ने प्रवृत्ति धेरै रहेको र अब हिङ बाँधेको टालोले पार्टी नचल्ने बताए। नेपाली काँग्रेसको जागरण कार्यक्रम जनस्तरबाटै गर्नुपर्ने भन्दै जागरणको अर्थलाई बुझेर काम गर्न उनले निर्देशन दिए। भाषणले मात्रै जागरण नआउने भएकाले कार्यकर्ताहरुको घरदैलोमै पुगेर सुखदुःख बुझ्न सक्नुपर्ने बताउँदै भागवन्डाकै आधारमा अब पार्टी अगाडि बढ्न नसक्ने उनको भनाई छ। 

कम्युनिस्ट सरकारले जनताको करबाट मोजमस्तीलाई मात्रै ध्यान राखेको भन्दै नेता केसीले जनताको कर मोटसाइकल र आइफोन किन्न प्रयोग भएको दावी गरे। देशमा भ्रष्टचार मौलाएको भन्दै उनले सडकआँगन बढार्ने तथा बादर धपाउने काम गरेर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अर्बौ कार्यकर्तालाई बाँडेको आरोप लगाए। ‘काँग्रेसले पार्टीको चिन्ता होइन चिन्तन गर्नुपर्छ’, उनले भने, ‘अब काँग्रेस आफै नसुध्रिए धनाढ्य र ठेकेदारको पार्टी हुन्छ।’ 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोगमा समय खेर फालेको भन्दै अब पम्पेल्ट, पोष्टरबाट नभएर सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सके चुनाव जित्ने आधार बन्ने बताए। ‘सेल्फी खिचेर फेसबुकमा राख्दैमा चुनाव जितिँदैन’, उनले भने, ‘व्यवहार सुधारेर मात्रै काँग्रेस बन्न सकिन्छ ।’ राम्रो र सुकिलो लगाउँदैमा काँग्रेस बचाउन नसकिने भन्दै विचार र एजेण्डाका आधारमा मात्रै काँग्रेस बच्ने बताए। ‘फलाम तातेको समय पिटेमात्रै आकार लिन्छ’, उनले भने, जहिले पायो त्यहीँ बेलामा पिटेर आकार लिँदैन, त्यसैगरी काँग्रेसले समयमै कम्युनिस्ट सरकारका काण्डहरुलाई लिएर जनतामाझ पुग्न सक्नुपर्छ, समय सकिएपछि गएर हुँदैन।’ 

प्रकाशित: २५ भाद्र २०७६ ११:५१ बुधबार

नेपाली_काँग्रेस अर्जुननरसिंह_केसी क्यान्सर जण्डिस