राजनीति

संसदमा हिन्दीमा बोल्दै अनिल झाले भनेः बाढी र डुबानको दोष भारतलाई नलगाउ

काठमाडौं– राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा हिन्दीमा बाेलेका झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए। 

प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए। ‘बाढीमा उद्धार र बाढीपछि पुनर्निर्माणको लागि प्राधिकरण गठन गर्नुपर्छ। दोस्रो देश (भारत)को नाम लिएर आरोप लगाउँदैमा केही हुनेवाला छैन। बाढी पीडित जनताको लागि सोच्ने काम सरकारले गरोस्’, उनले भने। 

यसअघिको सरकारले बाढी पीडितलाई हेर्नेगरी राष्ट्रिय भूकम्प प्राधिकरणलाई जिम्मा दिएकोमा अहिलेको सरकारले त्यसलाई जिम्मेवारीबिहीन बनाएको भन्दै उनले आक्रोश पोखे। 

केन्द्र सरकारले राहत तथा पुनर्निर्माणमा पनि ध्यान नदिएको भन्दै उनले सभामुखमार्फत निर्देशन गर्न पनि माग गरे। 

प्रकाशित: २४ भाद्र २०७६ १०:०५ मंगलबार

संसद अनिल_झा विपद_व्यवस्थापन_प्राधिकरण बाढी_र_डुबान भारत