राजनीति

चीन नेपालको भरपर्दो विकास साझेदारः अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन्। चिनियाँ व्यवसायीलाई शनिबार राजधानीमा लगानीका लागि आह्वान गर्दै उनले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए। 

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहोर्याउँदै उनले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे। 

अध्यक्ष दाहालले भने, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ।” नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उनले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे। 

अध्यक्ष दाहालले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए। 

नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेका बताउँदै उनले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार भएको बताए।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए।

प्रकाशित: २१ भाद्र २०७६ १०:२० शनिबार

चीन नेपाल विकास_साझेदार नेकपा पुष्षपकमल_दाहाल