राजनीति

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

भक्तपुर– नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला जग्गामा हुने जनाइएको छ।

अधिवेशनको अवसरमा नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा सातौं महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरुको भेला भएको छ। भेलामा पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले संख्याले सानो पार्टी भए पनि आफनो पार्टी विचार र सिद्धान्तमा अडिग रहने नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको दावी गरे। उनले सल्लाघारीस्थित १०८ रोपनी जग्गा अतिक्रमणबाट रोक्न भक्तपुर नगरपालिकाले पर्खाल निर्माण र सडक–पेटी व्यवस्थित गर्ने कार्यहरु गर्दै आएको बताए।

नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरु पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिए। नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरुकोतर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन सफलताको कामना गरे।

प्रकाशित: २० भाद्र २०७६ १०:०७ शुक्रबार

नेपाल_मजदुर_किसान_पार्टी महाधिवेशन