राजनीति

बुटवलमा पनि फैलदैँ डेंगी, ५३ जनामा भेटियो संक्रमण

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल । तस्बिरः नागरिक

रुपन्देही– प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पनि डेंगी संक्रमण फैलदै गएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजि अस्पतालमा डेंगीको संक्रमणका बिरामीहरु आउनेक्रम बढेको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार शुक्रबारसम्म ५३ जनामा डेंगीको संक्रमण देखा परेको छ। यसमा अधिकांश रुपन्देहीका छन्। 

यो पटक गुल्मी, अर्घाखाँची, प्यूठानसम्म पनि डेंगीको संक्रमणबाट उपचारका लागि बुटवल आएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर सहायक चन्द्रकान्त महतोले जानकारी दिए। उनका अनुसार दैनिक रुपमा ५ देखि १० जनासम्म डेंगी संक्रमणका बिरामी आउने गरेका छन्। प्रत्येक वर्ष महामारीका रुपमा देखा पर्ने डेंगीको संक्रमणबाट सतर्क रहन चिकित्सिकहरुले सुझाव दिएका छन्। बुटवलमा भने साउन ३२ गतेदेखि डेंगी संक्रमण भेटिएको हो। तर एक सातादेखि भने बिरामीको संख्या भने बढ्दै गएको छ। 

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण प्रसाद खनालले डेंगीको संक्रमण दिनदिनै बढ्दै गएकाले लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे। उनले उपचारका लागि कुनै पनि कसुर बाँकी नराख्ने र बुटवलमै सहज रुपमा उपचार गरिने बताउँदै यसका लागि सबै पक्ष सचेत हुने बेला आएको बताए। बिशेष गरि बुटवल क्षेत्रमा डेंगी रोग सार्ने लामखुट्टे पाइएको छ।

बुटवलमा आर्थिक वर्ष ६७/६८ देखि डेंगी संक्रमण देखिएको हो। शुरुको वर्षमा रुपन्देहीमा २ सय ९० जनामा डेंगी संक्रमण भेटिएको थियो। जसमा ४ जनाको मृत्यू नै भएको थियो। त्यसयता प्रत्येक वर्ष रुपन्देही डेंगीको सक्रमण भेटिएको हो। एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगी नियन्त्रणमा सर्वसाधरणले लापरवाही गर्दा यसको लार्भा हुर्किएको विज्ञहरुले बताएका छन्। 

बुटवलमा थोत्रा टायर, फुलदानी,गमला, पुराना बट्टा,डिब्बाहरु प्रसस्त मात्रामा रहेकाले डेंगीको उच्च जोखिम रहेको हो। अभियानका क्रममा थोत्रा टायरमा पानी जमेको भए पm्याक्ने, टायरलाई पानी नपर्ने स्थानमा राख्ने, टायरका पानी हटाउन नसकिए डढेको मोविल राख्ने, फुलदानी, खाली डब्बा, टिनका डब्बाहरुमा पानी जम्न नदिने, हप्तामा एक दिन खाली बनाएर राख्ने सन्देश दिईने जनाइएको छ। 

डेंगी रोग संक्रमित लामखुट्टे बढिमा ३० दिनसम्म मात्रै बाच्ने भएकाले यसको प्रजनन क्रियालाई नियन्त्रण गर्नु नै उपयुक्त उपाय भएको मेसु डा. खनालले बताए। बुटवलमा डेंगीको जोखिम बढ्न थालेपछि भने बुटवल उपमहानगरले समेत सचेत रहन नगरवासीलाई अनुरोध गरेको छ। उपमहानगरले सूचना जारी गरेर लामखुट्टेको टोकाईबाट बच्न सार्वजनिक अपिल गरेको छ।

प्रकाशित: १९ भाद्र २०७६ १३:३९ बिहीबार

प्रदेश_नम्बर_५ डेंगी_संक्रमण