राजनीति

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सक्रियता बढाएका छन्।  पछिल्लो कार्य विभाजनलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका दाहालले सोमबार सचिवालय बैठक राखेका छन्।

पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बोलाएका दाहालले बैठकमार्फत नेताहरूको विषयमा व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।  प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र नेता माधवकुमार नेपाल स्वयं भदौ ५ गते व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएपछि तल्लो तहका नेता तथा कार्यकर्ता एकअर्काप्रति आरोपित गर्न सक्रिय भएपछि त्यसको न्यूनीकरणका लागि यस्तो निर्णय गराएका हुन्।

पार्टि नेताबारे कुनै नेता, कार्यकर्ताले सार्वजनिक टिप्पणी गरे स्पष्टीकरण साध्ने र कारबाही गर्ने निर्णय छ।

‘यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रूपमा टिप्पणी गरे स्पष्टीकरण साध्ने र कारबाही गर्ने निर्णय छ,’ बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडका बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रूपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ।  यसलाई सार्वजनिक रूपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ। ’

दाहालले बैठकमा केन्द्रीय सदस्यलगायतका नेतालाई पार्टीलाई कमजोर बनाउने गरी जथाभावी नबोल्न पनि आग्रह गरेका थिए।  पार्टीभित्र केन्द्रीय सदस्यले नै शीर्ष नेताका विषयमा सामाजिक सञ्जाललगायत अन्य स्थलमा जथाभावी लेख्ने र बोल्न गरेकाले त्यस्तो निर्णय गरिएको हो।  खासगरी गत बिहीबारको बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सामाजिक सञ्जाल र पत्रपत्रिकमा आएको समाचारको विषयलाई लिएर विवाद भएपछि सोमबारको सचिवालय बैठकले सो निर्णय गरेको छ।

प्रधानमन्त्री ओली सिंगापुर उपचार गर्न गएपछि दुवै नेताले यसलाई सामान्यीकरण गर्न खोजेका थिए।  अध्यक्ष दाहालले नेपाललाई भेटेरै कुराकानी गरेका थिए भने नेपालले पनि ओलीलाई सन्देश पठाएर विषयलाई सामान्यीकरण गर्न खोजेकै बेला नेपाल निवास ओलीका तर्फबाट सुमन प्याकुरेल र अच्यूत मैनालीले प्रधानमन्त्रीको सन्देश दूतका रूपमा भेटेर सामान्यीकरण गर्न खोजेका थिए।  त्यसकै भोलिपल्ट नेपालले सो विषयलाई श्रीमान्– श्रीमतीको सामान्य घर झगडाको रूपमा चित्रण गरेका थिए।  सोमबारको बैठकमा पनि यो विषयलाई सामान्यीकरण गर्नुपर्ने नेताहरूले बताएका थिए।

‘खासगरी अध्यक्ष दाहालले यसलाई विवादका रूपमा बाहिर लैजानु गल्ती भएको र जो कोहीले विवादलाई बाहिर लगेका भए पनि यसले पार्टीलाई बलियो नबनाउने धारणा राख्नुभएको थियो,’ बैठकपछि एक सचिवालय सदस्यले भने।  सामाजिक सञ्जालको दुरूपयोग बढेकै कारण यस्तो अवस्था आएको पनि बैठकले निष्कर्ष निकालेको थियो।

बैठकले ओली नभएकै बेला चारजना केन्द्रीय सदस्य थप गरेको छ।  बैठकले विप्लव समूहबाट नेकपा प्रवेश गर्ने किरण राई , पदम राई, तथा नयाँ शक्तिपार्टीबाट प्रवेश गरेका देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रीय सदस्यका मनोनयन गरेको हो।  यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो।  नयाँ थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ।  नेकपाको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्यबाट १० प्रतिशतलाई केन्द्रीय समितिमा लैजान सकिने व्यवस्था रहेकाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको प्रवक्ता श्रेष्ठले बताए।

उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनय गर्ने प्रस्तावको विषयमा दाहालले वरिष्ठ नेता नेपाल, पार्टी प्रवक्ता श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापासँग पनि छलफल गरेका छन्।  त्यसैगरी दाहालले महासचिव विष्णु पौडेल प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग पनि छुट्टा छुट्टै छलफल गरेका थिए।  सो बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ।  यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ।  विष्णु रिजाल विदेश विभागको उपप्रमुखमा मनोनयन गरिएको छ।

बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई मनोयन गरेको छ।  त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ।  रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकिएको छ।  बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई मनोनयन गरेको छ।

प्रकाशित: १० भाद्र २०७६ ०२:२७ मंगलबार

नेकपा प्रतिबन्ध टिप्पणी