राजनीति

संसदमा प्रवेश गर्‍यो राजावादीको विषय, कानुनी दायरामा ल्याउन सांसदको माग

काठमाडौं– राजसंस्थाको पक्षमा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा ल्याउन सांसदले माग गरेका छन्। 

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पदमप्रसाद बाँस्कोटाले राजतन्त्र पुनर्स्थापनाको नाममा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा लिन माग गरे। उनले राजतन्त्रको पक्षमा गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन पनि माग गरे। 

‘नेपालमा राजतन्त्रलाई उन्मुलन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको केही वर्षभित्रै फेरि राजतन्त्र पुनर्स्थापना भन्ने ढंगले अवाञ्छित गतिविधि भएको छ, त्यो गतिविधिलाई तत्काल रोकिनुपर्छ’, उनले भने। उनले अवाञ्छित गतिविधि गर्नेलाई कानुनी दायराभित्र ल्याउन सरकारको ध्यानाकर्षण समेत गराए। 

सांसद बाँस्कोटाले राप्रपा र अन्य राजावादी शक्ति तथा पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति संकेत गर्दै नियन्त्रणको माग गरेका हुन्। 

उनले रवी लामिछानेका समर्थकबाट भएको अवरोध अन्त्य गर्न पनि माग गरे। ‘सरकारको दायित्व कानुनको रक्षा गर्ने हो। अनुसन्धान गर्ने काम पनि सरकारको हो। अनुसन्धानका क्रममा कहि कतैबाट बाधा अवरोध सिर्जना गर्नु हुँदैन। रवी लामिछानेको सन्दर्भमा भइरहेका अवरोध तत्काल अन्त्य हुनुपर्छ’, उनले भने।  

प्रकाशित: ४ भाद्र २०७६ ०६:४९ बुधबार

संसद राजतन्त्र_पुनर्स्थापना अवाञ्छित_गतिविधि कानुनी_दायरा