राजनीति

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

फाइल तस्बिर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका हुन्। 

उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

१२ वर्षअघि मृर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्केका हुन्। उनले विमानस्थलमा संचारकर्मीहरुसँग भने कुरा गर्न चाहेनन्। स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत भएका थिए। 

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ।

प्रकाशित: २७ श्रावण २०७६ ०८:०९ सोमबार

प्रधानमन्त्री_ओली सिंगापुर स्वास्थ्य_उपचार स्वेदश_फर्किए