राजनीति

‘छिमेकीलाई दोष देखाएर सरकार उम्कियो’

रौतहट – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले हालै बाढीबाट मर्माहात भइ पीडामा परेका जनतालाई राहतको समुचित व्यवस्था गर्नुको साटो केन्द्र सरकार छिमेकीलाई दोष र गाली दिएर उम्किन खोजेको आरोप लगाएका छन्। विपद्का बेला सरकारले गरेको लापरर्बाहीको जतिसुकै भत्र्सना र निन्दा गरे पनि कमै हुने उनको भनाइ थियो।

बागमती र लाबकैया नदीसहित सहायक नदीबाट हुने बाढीलगायतका समस्याको दीर्घकालीन समाधान गर्न संघीय संसद्मा पटकपटक अवाज उठाए पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे। बामगती नदीले राजदेवीको ब्रम्हपुर, बसतपुर दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, मत्सरी र गढीमाईका लक्ष्मीपुरमा कटान तीव्र बनाएका कारण त्रसित स्थानीयसँगको भेटका क्रममा उनले सो धारणा राखेका हुन्।

झाले गएका साढे १७ महिनामा बागमती नदीको स्पर, बाँध मर्मत सन्दर्भमा १२ पटक आवाज उठाएको, झाझ, डोरी र कामदेही नदीमा दुईतर्फी बाँध बनाउन आग्रह गरेको, नदी नियन्त्रण गर्ने निर्देशनालयको डिजी र संघीय सरकारका मन्त्री र सचिवलाई पटकपटक भने पनि ध्यान नदिएको आरोप लगाए।

प्रकाशित: ९ श्रावण २०७६ ०२:१३ बिहीबार

सरकार राजपा बाढी