राजनीति

मापदण्डविपरीत खटाइएका पूर्वमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुँदै

काठमाडौं - सरकारले पूर्वगृहमन्त्री तथा पूर्वमन्त्रीहरूको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने तयारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा खटिएको र मापदण्डविपरीत खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयले प्रक्रिया थालेको हो। ‘कतिपय पूर्वमन्त्रीले गृह मन्त्रालयको सिफारिसबाहेक मन्त्रिपरिषद्बाट निर्णय गराएर सुरक्षाकर्मी लिनुभएको रहेछ। सो निर्णय फिर्ता गराउन मन्त्रालयबाट प्रक्रिया अघि बढेको छ। केही दिनमै यसको नतिजा आउनेछ,’ गृहसचिव प्रेमकुमार राईले भने।

उनका अनुसार ‘सुरक्षा खतरा’ नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरूले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो। गृहमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको दाबी गरे।

‘विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्। ५ सयभन्दा बढी सुरक्षाकर्मी फिर्ता भएका छन्। केही व्यक्तिलाई सुरक्षा थ्रेटका आधारमा खटाइए हुनुपर्छ,’ गृहसचिव राइले भने। उनका अनुसार केही नखटाउनुपर्ने ठाउँमा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० अनुसार पूर्वगृहमन्त्रीहरूलाई तीन जनासम्म सुरक्षाकर्मी खटाउन सक्ने व्यवस्था छ।

त्यसैगरी, कुनै व्यक्तिले आफूलाई असुरक्षा महसुस गरेर सुरक्षाकर्मी माग गरे जिल्ला सुरक्षा समिति वा केन्द्रीय सुरक्षा समिति तथा गृह मन्त्रालयको सिफारिसमा सुरक्षा विश्लेषण गरी एक जना सुरक्षाकर्मी तीन महिनाका लागि खटाउने व्यवस्था छ। तर अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब एक हजार दुई सयभन्दा बढी सुरक्षाकर्मी व्यक्तिगत सुरक्षामा खटिएका छन्। कतिपय पूर्वगृहसचिव, पूर्वप्रहरी महानीरिक्षकको घरमा महिला प्रहरी जवानसमेत कार्यरत छन् भने केही धार्मीक गुरुलाई प्रहरीका चालकसमेत उपलब्ध गराइएको छ।

निर्मलाबारे अनुसन्धान जारी: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणको अहिले पनि अनुसन्धान भैरहेको बताउँदै यस्ता घटना यसअघि पनि हुने गरेको र पछि पनि हुनसक्ने बताए। गृहसचिव प्रेमकुमार राईले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अहिले पनि अनुसन्धान भइरहेको बताएका छन। उनले यस्ता घटनामा प्रहरीले ९० प्रतिशत सफलता हात पारेको बताउँदै निर्मला पन्तको हत्या सम्बन्धमा पनि अनुसन्धान जारी रहेको दाबी गरेका हुन्। उनले त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए।

सोही पत्रकार भेटघाट कार्यक्रममा सचिव राईले सुन तस्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए। सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको बताउँदै सचिव राईले ट्रकलाई पनि कम्पनीमा ल्याउने काम भइरहेको जानकारी दिए।

प्रकाशित: ८ श्रावण २०७६ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App