राजनीति

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न प्रतिपक्षी कांग्रेसलाई चेतावनी दिएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने। 

‘हामीले प्रमुख प्रतिपक्षीलाई हिंसाका बारेमा पनि कन्भिन्स गराउँदै गयौं भने नेपाली कांग्रेसले उठाउँदै गरेको चार तारामध्ये एक शान्तिको तारो लोकतन्त्र र स्वतन्त्रताको तारो कहाँ गयो भनेर खोज्नुपर्ने हुन्छ’, बाँस्कोटाले थपे। 

प्रहरी र निहत्था नागरिक मारिने कुरालाई लिएर निधेषको राजनीति भन्ने तथा हिंसा र निधेषको राजनीतिलाई एकै घानमा मुछेर लान खोजिएकोमा आपत्ति जनाउँदै मन्त्री बाँस्कोटाले आक्रोश पोखे, ‘त्यसैगरी समानान्तर हो भनेर लान खोजिएको हो भने के दिनभरी विपी, रातभरी विप्लव हो? के हो? मान्छे मारेको होइन, सुरक्षाकर्मी मारेको होइन? मार्न पाइन्छ?’ 

उनले हिंसाविरुद्धको कारवाहीलाई निधेषको राजनीति नभन्न पनि सचेत गराए। ‘संविधानअनुसार शान्तिपूर्ण सबैथोक गर्न गर्न सबैलाई छुट छ’, उनले भने, ‘जबरजस्ती हिंसा हत्या, लुटपाट र त्रास यो सबै कुरा र एउटा अस्थिरताको दृश्चक्रमा फसाउने र अध्यारो सुरुङतिर हाल्ने कुरामा कांग्रेस बेलैमा स्पष्ट हुनुपर्छ। यदि यहीँतर्फ हो भने घेराबन्दीमा सरकार होइन हत्या अपहरण, चन्दा आतंकलाई प्रोत्साहन गर्नेहरु पर्छन्।’

मन्त्री बाँस्कोटाले हिंसाको वकालत गर्नुभन्दा पहिला विगतमा दरबार, कांग्रेस, एमालेका नाममा तत्कालिन माओवादीले खेलेको कुरा सम्झिन आग्रह गरे। त्यसमा रमाएर जानुको कुनै अर्थ नभएको उनको भनाई छ। 

‘हिंसा सम्बन्धी नेपाली कांग्रेसको नीति के? त्यो बन्द हुनुपर्छ वा विप्लव जीहरुले गरेको हिंसा एकदम वैध छ। कांग्रेसको आँखाले के ठहर गर्छ?’ उनले प्रश्न गरे, ‘हिंसामा सत्ता र प्रतिपक्ष हुँदैन। हिंसा सर्वत्र त्याज्य र घृणाजन्य हुन्छ। भत्सर्नायोग्य हुन्छ।’

विप्लवको विषयलाई लिएर नेकपाभित्र कुनै घेराबन्दी नभएको दाबी गर्दै बाँस्कोटाले भने, ‘हिंसाले घेराबन्दी गर्यो भने कोही पनि उम्किन पाउँदैन्।’ 

प्रकाशित: २६ असार २०७६ ११:५० बिहीबार

सञ्चारमन्त्री गोकुल_बाँस्कोटा कांग्रेस विप्लव_समूह