राजनीति

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको विस्तारित केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सातवटा प्रदेशका अध्यक्ष तथा ७७ जिल्लाका जिल्ला समितिका अध्यक्ष गरी कुल ३ सय ४३ प्रतिनिधिको उपस्थिति छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक राजनीति तथा पार्टीको भावी कार्यनीतिबारे प्रतिवेदन प्रस्तुत गरे। यसैगरी पार्टीका महासचिव भाष्कर भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरूमाथि अध्ययन गरी थप छलफल गर्न सात छुट्टाछुट्टै टिम गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराए।

उनका अनुसार शनिबार (आज) बस्ने बैठकमा उक्त सातवटा टिमले तयार गरेको अध्ययन प्रतिवेदनबारे विस्तृत छलफल हुनेछ। शुक्रबारको बैठकमा पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक स्थितिबारे सहभागीले असन्तुष्टि पोखेको जनाइएको छ।

प्रकाशित: ७ असार २०७६ ०१:५० शनिबार

राप्रपा केन्द्रीय_समितिको_बैठक कमल_थापा