राजनीति

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

काठमाडौं– नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्। 

गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे गृहमन्त्री थापाले संसदमा दिएको जवाफमाथि प्रश्न गर्दै तिमल्सिनाले झुट नबोल्न सचेत गराए। 

‘मान्छेलाई लातका लात कुटेर मार्ने अवस्था पुर्याएको छ। गृहमन्त्री भन्नुहुन्छ केही भएको छैन, सामान्य बल प्रयोग भएको छ। तपाईहरुले हेर्नुभएको छैन्, सत्तापक्ष सांसदले, सभामुखले हेर्नुभएको छैन? सबैतिर त्यही कुरा आइरहेको छ। सत्य कुरा मात्रै संसदमा बोल्नुपर्यो’, उनले भने।  

गृहमन्त्री थापाले पटक पटक सरासर झुटको मात्रै कुरा गरेको भन्दै उनले थपे, ‘जुलुस निकाल्न, स्वतन्त्र माग राख्न नपाउने यो कुन लोकतन्त्र हो? अधिनायकवादी शैलीमा जनतालाई हिड्न नदिएर, कुट्ने? अहिले मिडियाको जमाना छ, तुरुन्त फेसबुकमा आउँछ। त्यही पनि गृहमन्त्रीले झुट कुरा गर्नुहुन्छ। सत्य बोल्नुपर्यो, यथार्थ जवाफ दिनु आग्रह गर्दछु।’

सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने जनताको अधिकार कुण्ठित गर्न खोजेको भन्दै सांसद तिमल्सिनाले प्रश्न गरे, ‘अब नागरिकले शान्तिपूर्ण जुलुस निकाल्न पनि नपाउने? २०५८ सालको राजा ज्ञानेन्द्र शाही कालजस्तै कोही निक्लिन नपाउने? यो अवस्था कहिलेसम्म गर्ने हो यो सराकारले?’

प्रकाशित: २८ जेष्ठ २०७६ ०६:३६ मंगलबार

संसद गुठी_विधेयक गृहमन्त्री_रामबहादुर_थापा देवप्रसाद_तिमल्सिना