राजनीति

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ। राप्रपाले मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको यात्रा सुरु गर्न लागेको हो। शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि यात्रा शुरु हुने राप्रपाले जनाएको छ। 

पहिलो चरणमा ३६ जिल्लाको यात्रा गरेको उक्त दलले दोस्रो चरणमा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा पुगेर समापन हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। स्वाभिमान यात्रामा साना ठूला गरी बीस वटा सभाहरु हुने र सबै सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले बताए। आफ्ना माग पुरा गर्न सरकारलाई जनदबाव सिर्जना गर्ने उद्देश्यले स्वाभिमान यात्रा गर्न लागिएको उनको भनाई छ।

 हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको थियो। मागका विषयमा सरकार र राप्रपाबीच गत वैशाखमा वार्ता भएपनि बिना कुनै सहमति भने हुन सकेन।

प्रकाशित: २३ जेष्ठ २०७६ ०८:०३ बिहीबार

राप्रपा केपी_शर्मा_ओली कमल_थापा स्वाभिमान_यात्रा