राजनीति

संसदमा कुलमानमाथि छानबिनदेखि लोकसेवाको विज्ञापन खारेजीसम्मकाे माग (भिडियाे)

काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। शुन्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्मा सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदै गएको आरोप लगाए।  लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले उक्त कुराको पुष्टि गरेको उनले दाबी गरे।

उनले लोकसेवा आयोगको विज्ञापन खारेज गरि संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरि पुन प्रकाशित गर्न माग गरे। सांसद मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपुर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न नसकेको गुनासो गरे।

सांसद यज्ञ बहादुर बोगटी जेठ १० गते अछामको ढकारी गाउपालिका वडानम्बर ४ बलातामा आगलागीबाट ७ वटा घरपुर्ण रुपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सिको क्षति भएको भन्दै तत्काल पीडीतलाई राहतको व्यवस्था गर्न माग गरे।

सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपु गोर्खा सैनिकहरुले वर्षौदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरे। सांसद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनिया महिलाको मृत्यु भएको र सो को छानविनका लागि हुम्लाका तेज बहादु थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद राजेन्द्र प्रसाद लिङदेनले विगत तीन दशकदेखि बेलायति भुतपुर्व सैनिकहरु समान कामको समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्याउने विषयमा उचित पहल गर्न माग गरे।

सांसद लक्ष्मण लाल कर्णले विरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसंग माग गरे। उच्च अदालत भवन निर्माणका लागि सर्वोच्च अदालतले ७ विघाहा जग्गाको माग गरेको फाईल उद्योग मन्त्रालयले थन्काएर राखेको दाबी गरे। उच्च अदालतको भवन बनाउन सर्वोच्च अदालत तयार भइरहेको अवस्थामा भवन निर्माण सम्बन्धि फाईल मन्त्रालयमा अड्काउने काम भएको भन्दै उनले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए। जनपुरको उच्च अदातलको अतिरिक्त बेन्च उच्च अदालत विरगञ्जमा संचालन हुदै आएको छ।

सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले आफुमा निहित क्रिश्चियन धर्म विरोधी भूतलाई हटाउन सांसदहरुलाई आग्रह गरे।

'सार्वजनिक लेखा समितिको बैठकमा अमनलाल मोदीले विद्युत प्राधिकरणको उठ्न बाँकी नौ अर्बका विषयमा कुरा उठाउनु भयाे, यो विषय उठाउँदा उहाँलाई तल्लो स्तरमा आएर गाली गरियो। स्वयं कुलमान घिसिङ जीले पनि मलाई घेराबन्दी गरियो भन्नु भयो। उनले भने, 'कुरा गम्भीर हो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानविन गरोस्।'

प्रकाशित: २१ जेष्ठ २०७६ ०६:५६ मंगलबार

प्रतिनिधिसभा शून्य_समय अमनलाल_मोदी कुलमान_घिसिङ