राजनीति

‘अदालतलाई तर्साउने तथा मानवअधिकारमाथि अंकुश लगाएर ओलीले जनमतको दुरुपयोग गरे’

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्था अंकुश लगाउने काम गरेर जनमतको दुरुपयोग गरिरहेको आरोप लगाए। आइतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश, परिवर्तन र आन्दोलनको भावना विपरितका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको पनि स्पष्ट पारे।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिस्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो पनि गरे। 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णत असफल भएको दावी गरे। ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने आफ्नै नारा विपरित सरकारले गतिविधि गरिरहेको महासचिव मैनालीको भनाई छ।

महासचिव मैनालीले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकप्रति पनि आपत्ति जनाए।

प्रकाशित: १९ जेष्ठ २०७६ १६:१८ आइतबार

नेपाली_काँग्रेस रामचन्द्र_पौडेल जनमतको_दुरुपयोग सरकार