राजनीति

टोल–टोलमा कार्यकर्ता जगाउँदै कांग्रेस

नेपालगन्ज - राप्तीसोनारी–२ कचनापुरका कांग्रेस क्रियाशील सदस्य हर्षबर्धन चौधरीको व्यस्तता अचेल धेरै बढेको छ। पार्टीले सुरु गरेको जागरण अभियानलाई टोल–टोलमा पु¥याउन उनी केही दिनयता सक्रिय छन्। ‘पार्टीको जागरण अभियान टोल–टोलमा पुगेको छ, कार्यकर्तामा छुट्टै खालको उत्साह देखिन्छ,’ चौधरीले नागरिकसँग भने, ‘हामीले टोल–टोलमा पुगेर वर्तमान सरकारले गरेका नराम्रा कामबारे जनतालाई जागरुक पार्ने काम गरिरहेका छौं।’

आफ्नो वडामा अहिलेसम्म बैठक तथा भेला सम्पन्न भइसकेको र वडा सम्मेलन गर्ने तयारी रहेको चौधरीले सुनाए। नेपाली कांग्रेसले गत वैशाख २५ बाट देशभर एकैसाथ सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अहिले वडास्तरमा केन्द्रित भइरहेको छ। नगरपालिका र गाउँपालिका क्षेत्रमा साविक गाउँ विकास समितिका वडामा दिनहुँजसो बैठक र भेला भइरहेका छन्।

कतिपय वडामा बैठक र भेला सम्पन्न भएर पनि वडा सम्मेलन गर्ने तयारी छ। बैठक र भेलामा सहभागी भएर कार्यकर्ताले पार्टीले अपनाउनुपर्ने रणनीतिबारे सुझाव दिन्छन्। जागरण अभियानले पार्टीलाई पुनर्जीवन दिने कांग्रेस कार्यकर्ताको बुझाइ छ। बैठक, भेला र सम्मेलनमा पार्टीका सम्बन्धित वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि, जिल्ला सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने गरेका छन्।

कांग्रेस बाँकेका सभापति किरण कोइराला वडास्तरमा अहिले जागरण अभियान चलिरहेको बताउँछिन्। ‘अहिले वडास्तरमा जागरण अभियान चलिरहेको छ, वडामा रहेका कार्यकर्तालाई जागरुक गराउने काम भएको छ,’ उनले भनिन्, ‘कार्यकर्ता जागरुक भएपछि कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापबारे आम जनता जागरुक हुनेछन्।’ जागरण अभियानमा पार्टीका सिंगो नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संगठन लागेको सभापति कोइरालाको भनाइ छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०२:५१ शुक्रबार

नेपाली_कांग्रेस कार्यकर्ता जागरण_अभियान