काठमाडौं – नेपाली कांग्रेसले बुधबारदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानमा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो।
‘नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदि विषयमा जानकारी दिन सो अभियान थालिएको हो,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ देखि १८ वर्षका विद्यार्थीका लागि र १९ देखि २८ वर्ष उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिनेछ।’
पार्टीका महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने जनाउँदै उसले भनेको छ, ‘सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।’
कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने जनाउँदै विदेशस्थित जनसम्पर्क समितिहरुमा आवद्ध साथीहरूलाई प्रशिक्षणको कार्यक्रम गर्ने उल्लेख छ। संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘कांग्रेस मेला’ को आयोजना गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय विषयहरुका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधि सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने जनाउँदै उसले भनेको छ, ‘पार्टीको विधानमा व्यवस्था भएबमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्व प्रशिक्षण लिएको हुनै पर्नेे भएकोले सबै क्रियाशील सदस्यका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नेछ।’
प्रकाशित: २३ वैशाख २०७६ ०२:३७ सोमबार