राजनीति

न्यायाधीस सिफारिसप्रति पूर्वन्यायाधीशको आपत्ति

काठमाडौं – पूर्वन्यायाधीश फोरम, नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोरमले सिफारिस गर्दा न्यायपरिषद् ऐन तथा नियमावलीअनुसार पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरिएको उल्लेख गर्दै वरिष्ठता, अनुभव, कार्यकुशलता र इमानदारी र चारित्रिक शुद्धताको पनि ख्याल नगरिएको दाबी गरेको छ।

फोरमका तर्फबाट महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको विज्ञप्तिमा न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसले न्यायापालिकाको गरिमामा आँच पुग्न गएको तथा न्यायिक क्षेत्रसँग सम्बद्ध इमानदार र सक्षम व्यक्तिहरू हतोत्साही हुन गएको उल्लेख छ। यसबाट न्याय सम्पादनमा गम्भीर दुष्परिणाम निम्तिन सक्नेतर्फ पनि फोरमले चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘न्यायिक क्षेत्रसँग सम्बद्ध इमानदार तथा सक्षम व्यक्तिहरु हतोत्साहित हुन सक्ने हुँदा सोको परिणामस्वरुप न्यायसम्पादन कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने निश्चित छ।’ फोरमले यसतर्फ बेलैमा उत्तरदायी बन्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित: २८ चैत्र २०७५ ०२:०७ बिहीबार

पूर्वन्यायाधीश_फोरम_नेपाल सर्वोच्च_अदालत उच्च_अदालत न्यायाधीश_नियुक्ति