राजनीति

पूर्वराजा ज्ञानेन्द्र इलाममा

इलाम– पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ इलाम आएका छन्। निजी भ्रमणका लागि भन्दै उनी झापाको दमकबाट सदरमुकाम आइपुगेका हुन्।

‘साँझ इलामको समिट होटलमा उहाँ बास बस्नुभएको छ,’ उनको समर्थक हरि श्रेष्ठले भने, ‘सोमबार उहाँ पाँचथर जाने कार्यक्रम छ।’ सोमबार मध्याह्नतिर उनी पाँचथर जाने भएपनि बिहानको कार्यक्रम भने टुंगो नलागेको श्रेष्ठले बताए। सोमबार पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा पूर्वराजा शाहले माल्यार्पाण गर्ने कार्यक्रम छ। 

मंगलबार पुनः इलाम फर्केर उनी बुधबार पनि इलाममै बास बस्ने श्रेष्ठले बताए। ‘बिहीबार इलाममा पदयात्रा र माइस्थान मन्दिरमा उहाँले पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ,’ श्रेष्ठले भने, ‘त्यसै दिन पूर्वराजा दमक फर्किनुहुनेछ।’ 

श्रेष्ठले कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि आउन लागेको जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७५ १४:३८ आइतबार

ज्ञानेन्द्र_शाह इलाम_भ्रमण