राजनीति

पूर्वमन्त्री न्यौपाने धरौटीमा रिहा

काठमाडौं– तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने धरौटीमा रिहा भएका छन्। 

भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा अनियमितता गरेको भन्दै न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारीकामान जोशी लगायतको संयुक्त इजलासले सुनुवाइ गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

न्यौपाने ५ लाख धरौटी बुझाएर रिहा भएका छन्। न्यौपानेको पक्षमा अधिवक्ताहरु उपेन्द्र केसी, रमण न्यौपाने, गोविन्द वंशी, शिव अर्यालले बहस गरेका थिए।

अख्तियारले न्यौपानेसहित समाजकल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक टेकबहादुर गुरुङ, प्रमख सञ्चालक रविन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रत्त गाहामगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वार, तत्कालीन कानुनी सल्लाहकार प्रेम सिंह धामी र जगदेव चौधरीविरुद्ध ३१ करोड ५१ लाख १७ हजार रुपैयाँ अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो।

प्रकाशित: १३ चैत्र २०७५ १२:५० बुधबार

बद्रीप्रसाद_न्यौपाने फनपार्क अनियमितता अख्तियार रिहा