राजनीति

भारतीय विदेश सचिव गोख्ले भाेलि काठमाडौं आउँदै

काठमाडाैं- भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदै छन्।

आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

करिब १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो। भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ।

दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ। सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन्। 

प्रकाशित: १३ चैत्र २०७५ १२:१२ बुधबार

भारत विदेश_सचिव विजय_गोख्ले भ्रमण