राजनीति

‘मृत संस्था जीवित गराउने र क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पारिन्छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मृत संस्था जिवित गराउने सपना देख्ने र क्रान्तिका नाममा जनता अल्मल्याउनेहरुलाई निस्तेज पारिने बताएका छन्। 

सोमवार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८ औं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा र अर्काे जनयुद्धको त्रास फैलाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संकेत गर्दै निमिट्यान्न पार्ने उद्घोष गरेका हुन्।

परिषदका अध्यक्षसमेत रहेका ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने चेतावनी दिए। ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुँदैनन्’, उनले भने, ‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’

आजै नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि विप्लव नेतृत्वको पार्टीलाई कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्। 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा दाहालले सरकारले सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे। नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने चेतावनीसमेत दिए।

प्रकाशित: २७ फाल्गुन २०७५ १०:४७ सोमबार

राप्रपा विप्लव प्रधानमन्त्री