राजनीति

सीके राउतको राजनीतिक ‘छलाङ’

काठमाडौं - वर्ष दिनअघि राजधानीमा एउटा गोष्ठी आयोजना भएको थियो। विषय यस्तै संघीयता र अधिकारसँग केन्द्रित थियो। विभिन्न क्षेत्रका युवा सहभागी थिए। मधेस आन्दोलनमा मानिसहरूले ज्यान गुमाएका समाचार ताजै थिए।

मधेस आन्दोलनको विषयलाई जोड्दै कार्यक्रममा सहभागी एक मधेसी युवाले भनेका थिए– ‘राज्यले यस्तै थिचोमिचो गर्छ र चन्द्रकान्त राउत जन्मन्छन्, आज राउतले आफ्नो नारा छोडेका छन्। तर उनीबाट प्रशिक्षित युवा कुनै दिन ‘समस्या’ बन्न सक्छन् यो हेक्का सरकारले राख्नु जरुरी छ। 

सीके राउतले जुन खालको आन्दोलन चलाएका थिए, त्यो कुनै कोणबाट पनि राम्रो थिएन। आज जसरी मूलधारको राजनीतिमा आउने प्रयासस्वरूप ११ बुँदे सहमति गरेका छन्, त्यसको सराहना गर्नैपर्छ। तर, यति नै बेला बुझ्नुपर्ने कुरा के भने, मधेसमा पृथकतावादी आन्दोलन चलाउने राउत एक्ला र पहिलो व्यक्ति भने होइनन्। जयकृष्ण गोइत, ज्वाला सिंह, भगत सिंहलगायत दर्जनौं सशस्त्र समूहले पृथकतावादी क्रियाकलाप चलाइरहेका छन्। उनीहरू अहिले पनि न सहमतिमा आएका छन् न त आफ्नो नारा छोडेका छन्। 

सीके राउत र उनीहरूबीच एकै मात्र फरक थियो। राउत शान्तिपूर्ण आन्दोलनमा सीमित थिए। त्यो आन्दोलनले मात्र उनलाई चिनाएको थिएन, राज्यले पटक पटक गिरफ्तार गर्दा अदालतबाट छुट्दै जाँदा उनको एउटा परिचय बनिसकेको थियो। मानिसलाई वा दललाई परिचय बनाउन ठूलै मेहनत गर्नुपर्छ। आज पनि कुनै पार्टीको नाम नभेर त्यसको नेताको नामबाट पार्टी चिन्नुपर्ने अवस्थाका दल धेरै छन्।

मधेसमा आफ्नो पार्टीको होल्डले मात्र नपुगिरहेको समय राउतलाई आफूअनुकूल बनाउन सरकार र नेकपा लाग्ने नै छन्।

यो ५-६ वर्षको दौरान राउतले आफ्नो परिचय बनाए। जसले अबको मूलधारको राजनीतिमा उनलाई सबैभन्दा फाइदा मिल्ने देखिन्छ। अझ उनले आफूलाई राजनीतिक रुपमा यसरी स्थापित गरिदिए कि दुई तिहाइको सरकार र नेकपाका दुवै अध्यक्षलाई एउटै मञ्चमा राखेर पृथकतावादी विषय छोडेको सहमति नै गरे। र भाषण गर्दै भने, ‘यसले सबैको जित भएको छ।’

सरकार र तत्कालीन माओवादीबीचको बृहत् शान्ति सम्झौताकै छनक आजको कार्यक्रममा देखियो। तर यसको गरिमा त्यसको जति नहोला !  

मधेस मामिला जानकार तथा पूर्वराजदूत विजयकान्त कर्णको बुझाइमा सीके राउतले आफूलाई ‘करेक्सन’ गरेका छन्। ‘राउतजीले मधेसका जनतालाई मिसलिड गर्नुभएको थियो। उहाँले अहिले करेक्सनगर्नु भएको छ। अझै उहाँले ढिलो गर्नुभयो, कर्णले भने, मेरो बुझाइमा नेपाल नै सार्वभौम देश बन्ने कसरतमा छ। हामी सबै सामान विदेशबाट लिन्छौं। राजनीति मात्र सबै थोक होइन। मधेस स्वतन्त्र राज्य बन्न सक्दैन भनेर उहाँलाई पहिल्यै भनेको थिएँ।’ राउतले एउटा प्रयत्न गरे पनि अहिले उनमा चेतना आएको कर्णको टिप्पणी छ। 

अझ उनी यस्तो समयमा मूलधारको राजनीतिमा आउने निर्णय गरे, जुन समय पनि उनको अनुकूल देखिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा)ले रेशम चौधरीको विषयलाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यही समय राउत मूलधारको राजनीतिमा ‘इन्ट्री’ गर्दैछन्। मधेसमा आफ्नो पार्टीको होल्डले मात्र नपुगिरहेको समय राउतलाई आफूअनुकूल बनाउन सरकार र नेकपा लाग्ने नै छन्।

सरकारले मधेसका मुद्दाको सम्बोधन गर्नतर्फ जानुपर्ने कर्णको तर्क छ। थारू, मधेसीहरूका मुद्दा सम्वोधन गरेर अर्को सिके राउत जन्मने मुहान बन्न गर्ने तर्फ सरकार लाग्नु पर्ने उनी बताउँछन्। उपेन्द्र यादव पहिलो मधेस आन्दोलनबाट उदाए। तर, गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर, राजेन्द्र महतोहरू एकै पटक उदाएका नेता होइनन्। सीके राउत पनि राजनीतिमा एउटा ‘स्पेस’ चाहन्थे र आफ्नो पहिचान। सरकारसँगको सहमतिसँगै उनले आफ्नो अलग पहिचान मजबुत तरिकाले राजनीतिमा बनाएका छन्। 

२०६३ मंसिरमा बृहत् शान्ति सम्झौता हुँदा पनि द्वन्द्व सदाका लागि सकियो भन्ने निष्कर्ष निकालिएको थियो। तर त्यसको १० वर्ष बित्न नपाउँदै माओवादीकै एक नेता नेत्रविक्रम चन्दले पुनः जनयुद्धको बाटो समात्न खोजिरहेका छन्। यही महिना मात्र एक जनाको ज्यान जनेगरी देशका दर्जनौं स्थानमा विस्फोटका घटना विप्लव माओवादीबाट भए।

सायद समयमै सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्दकालीन घटनाका विषय टुंग्याउन सकेको भए, पूर्वलडाकु, घाइते, जागिरबाट बर्खास्त परेकाहरूलाई सम्बोधन गर्न सकेको भए अर्काे द्वन्द्वको खतरा टर्न सक्थ्यो। तर सरकारमा रहेकाले त्यसमा रुचि कहिल्यै देखाएनन्। 

त्यो जस्तै राउतका कार्यकर्ताको विषयमा पनि सोचेर अघि बढ्नुपर्ने हुन्छ। मधेसमा विद्यमान विषय समाधानमा सरकारले रुचि देखाउनुपर्छ। हैन भने एक जना नेता भएइरहँदा अर्को विद्रोही बन्ने खतरा उत्तिकै रहन्छ।

 

प्रकाशित: २४ फाल्गुन २०७५ १२:०२ शुक्रबार

सीके_राउत मधेसी मधेस_आन्दोलन शान्ति_सम्झौता