राजनीति

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

राजपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा अदालतको फैसलालाई लिएर सरकारलाई निशाना बनाएको भन्दै आपत्ति जनाए। ‘अदालतलाई सरकारले निर्देशन दिन मिल्दैन’, उनले भने, ‘अदालतको फैसला बेग्लै कुरा हो। सरकार छुट्टै कुरा हो।’

हिन्दीमा उखान र रिसाएको बिरालोको उदाहरण दिँदै ओलीले भने, ‘अदालतले फैसला ग-यो। चिथोर्ने सरकारलाई। आवेग उत्तेजनामा नआउन आग्रह गर्दछु। राजनीति नगरौं। अनेकता, असमझदारी, आरोपप्रत्यारोपतिर नजाऔं।’

राजपाका नेताले ‘पृथकतावादीलाई छोड्ने, हामीलाई थुन्ने’ भनेको सुनेको उल्लेख गर्दै ओलीले देश टुक्र्याउने भन्ने विषय समाप्त भएको टिप्पणी गरे। 

‘विभिन्न बहाना बनाएर आफ्नो राजनीति अस्तित्व जोगाउने, देशलाई तनावतिर लैजाने बेला होइन’, उनले भने, ‘यो देश निर्माण गर्ने बेला हो। सुशासन र विकासको लहर चलाउने बेला हो।’ 

सरकार फराकिलो मतका साथ विकास र जनताका समस्या समाधान गर्न तयार रहेको ओलीको भनाई छ। 

अहिले भ्रष्टाचारका विभिन्न मुद्दामा धमाधम कारवाही हुँदा भ्रष्टाचार बढेको भनेर टिप्पणी भइरहेकोमा आपत्ति जनाउँदै उनले भने, ‘पहिले कारवाही नै हुँदैनथ्यो। अब भ्रष्टलाई छोडिन्न कारवाही गरिन्छ।’ 

तराईमा सीके राउतलाई देखाएर स्वार्थको रोटी सेक्नेहरुको धन्दा अब बन्द भएको बताउँदै ओलीले एउटा देश, एउटा राज्य र एउटा सरकारलाई कसैले परिवर्तन गर्न नसक्ने स्पष्ट पारे।

प्रकाशित: २४ फाल्गुन २०७५ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App