राजनीति

सुखानीमा पहिलोपटक दाहाल र ओली

झापाको सुखानीमा ४६ औ सुखानी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल।    तस्बिर : युवराज/नागरिक

दमक – सुखानी हत्याकाण्ड भएको ४६ औ वर्षपछि मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सँगै सम्बोधन गरेका छन्। विगतमा एकिकृत माओवादी र नेकपा एमाले हुँदा बेग्लाबेग्लै सुखानी सहिद स्मृति दिवस मनाउदै आएका यी नेताहरू पहिलोपटक सुखानीमा एकसाथ देखिएका हुन्।

विगतमा यी दुवै नेताबीच सुखानीको स्वामित्व कसले लिने भन्नेमा विवाद थियो। झापा विद्रोहबाट उदाएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र शसस्त्र जनयुद्धबाट उदाएका अर्का अध्यक्ष दाहालले दुवैले सुखानीका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे।

दाहालले एकै पार्टी बनाएर पहिलोपटक सुखानी आएको उल्लेख गरे। ‘हामी भिन्नभिन्न विचारको नेतृत्व गरेर यहाँसम्म आइपुगेका छाैं,’ उनले भने, ‘अब हामी एकै भएर पहिलोपटक यहाँ आएका हौं।’ दाहालले दुवै अध्यक्षसँगै उपस्थित हुन पाएको खुसी व्यक्त गरे। ‘हामीले जनयुद्ध दिवस पनि सँगै मनायाैं, यसपटक सुखानीमा पनि हामी सँगै उपस्थित हुन पाएका छाैं,’ उनले भने, ‘यो मेरो लागि खुसी र गर्वको क्षण हो।’

अध्यक्ष दाहालले गणतन्त्रका लागि शसस्त्र सघर्ष गर्दाको क्षणमा सुखानीका सहिद, जनयुद्धका सहिदलाई एकैठाउँमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेको स्मरण गरे। ‘त्यसबेला सर्वसम्मत पारित भएको त्यसबेला म अहिले स्मरण गर्न चहान्छु,’ उनले भने, ‘फागुन १४ देखि २१ सम्म हामीले सहिद सप्ताह मनाउने गरेका थियौं।’ दाहालले दुवै कम्युनिस्ट पार्टीको एकता चुनौतीपूर्ण रहेको र प्रतिकूलताबीच जोखिम मोलेर एकता गरेको उल्लेख गरे। उनले बेग्लाबेग्लै सिद्धान्त बोकेका कम्युनिष्ट पार्टीलाई एक बनाइएको बताए। झापालाई आधार बनाएर आएको एउटा कम्युनिष्ट र रोल्पालाई आधार मनाएर आएको अर्को कम्युनिस्टबीच एकता भएको उल्लेख गर्दै उनले त्यसबेला नै एउटा परिकल्पना गरेको अहिले साकार भएको बताए।

पार्टीको तत्कालीन प्रमुखको हिसाबमा पञ्चायती व्यवस्था मार्ने र राजतन्त्र ल्याउने सपना अहिले पूरा भएको छ। त्यसबेला म धन्न उम्किएर बाँचे, नभए छैठौ शालिक मेरै हुने थियो।’

दाहालले भने, ‘मलाई कांग्रेसले त्यसबेला ५ वर्ष प्रधानमन्त्रीको अफर गरेको थियो, तर मैले पार्टी एकतालाई प्रमुख माने, दुईपटक प्रधानमन्त्री बने, फेरि लोभ छैन।’ उनले एकता गर्न ठूलो जोखिम मोलेको समेत उल्लेख गरे।

प्रधानमन्त्री ओलीले त्यसबेलाका सहिदले देखेको सपना अहिले पूरा भएको बताए। त्यसबेला आन्दोलनले उचाइ लिन नसकेको बताउँदै उनले भने, ‘हामीले त्यसबेलै राजतन्त्र खत्तम गर्ने, गणतन्त्र ल्याउने भनेर लागेका थियौं, अहिले त्यो पूरा भएको छ।’ ओलीले पार्टीको तत्कालीन प्रमुखको हिसाबमा पञ्चायती व्यवस्था मार्ने र राजतन्त्र ल्याउने सपना अहिले पूरा भएको उल्लेख गरे। ‘४६ वर्षपछि त्यो सपना पूरा भएको छ, त्यसबेलाको विचार अहिले पूरा भएको छ,’ ओलीले भने, त्यसबेला म धन्न उम्किएर बाँचे, नभए छैठौ शालिक मेरै हुने थियो।’

ओलीले कुनै पनि तानाशाही प्रवृत्ति लामो समयसम्म टिक्न नसक्ने उल्लेख गर्दै भने, ‘पञ्चायती तानाशाही प्रवृत्ति सुखानी घटनाको १७ वर्षपछि ढल्यो, त्यसको अरु १६ वर्ष पछी राजतन्त्र पनि ढल्यो।’ ओलीले त्यसबेला जनतालाई आन्दोलन बुझाउन नसक्दा समस्या भएको बताए। ‘त्यसबेला मानव अधिकार थिएन, स्वतन्त्रका कुरा थिएनन्, जनताले हतियार उठाउन चाँहदैन थिए,’ उनले भने, ‘तर आफ्ना आकाक्षालाई अभिब्यक्त गर्न चहान्छ, तर शान्तिपूर्ण आवाजलाई दमन गरिएपछि जनताले स्वभाविकरूपमा प्रतिवाद गर्छन्, झापा आन्दोलन त्यही बाटोबाट अघि बढेको हो।’

ओलीले झापा आन्दोलन जायज माग राख्न नपाएको भनेर शान्तिपूर्ण आन्दोलनमा दमन भएपछि घटना भएको बताए। ‘कम्युनिस्ट पार्टीले त्यसबेलै गणतन्त्र मागेका थिए, सामान्तवादको उन्मुलन गर्नका लागि २००७ सालको आन्दोलन पर्याप्त थिएन,’ उनले भने, ‘त्यसपछि झापा विद्रोह जन्मियो, अनि राजतन्त्र उन्मुलन गर्ने लडाइँ त्यहीँबाट सुरु भएको हो।’ २०२९ सालमा जेल सार्ने बहानामा झापा र इलामको सीमावर्ती सुखानीमा तत्कालीन कोअर्डिनेसन केन्द्रका कार्यकर्तालाई गोली हानी हत्या गरिएको थियो।

तत्कालीनको–अर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बाहनामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो। नेत्र घिमिरे, कृष्ण कुँइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानाबारीस्थित सुखानीमा फागुन २१ गते हत्या गरिएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:०६ बुधबार

सुखानी_हत्याकाण्ड केपी_शर्मा_ओली नेकपा पुष्पकमल_दाहाल झापा