राजनीति

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

काठमाडौं – समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

प्रदेश ३ र काठमाडाैं महानगरपालिकाको हकमा भने कर्मचारीले राजेको ठाउँमा समायोजन हुने निश्चित नभएको मन्त्रालयको भनाइ छ। समायोजन फाराम भर्दा करिब ५ हजार कर्मचारीले प्रदेश ३ र करिब ३ हजार कर्मचारीले काठमाडौं महानगरपालिकलाई पहिलो रोजाइ बनाएको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए।

अन्य ठाउँको तुलनामा प्रदेश ३ र काठमााडौं महानगरपालिकलाई कर्मचारीले पहिलो रोजाइ बनाएको पनि उनले जनाए। उनले भने, ‘त्यसैले प्रदेश ३ र काठमाडौं महानगरपालिकमा भन्न सकिन्न। अन्य ठाउँमा कर्मचारीले राजेकै तहमा समायोजन हुने सम्भावना छ।’ समायोजन फाराम भरेका कर्मचारीमध्ये ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले राजेकै ठाउँमा हुने पनि उनले दाबी गरे।

सरकारले गत माघ २ सम्म समायोजन फाराम भर्न कर्मचारीलाई आह्वान गरेको थियो। सरकारको आह्वान स्वीकार्दै ७७ हजार ३४ कर्मचारीले समायोजन फाराम भरेका थिए। तीमध्ये ३५ हजार ३ सय ६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकता दिएर फाराम भरेका थिए। यसैगरी १४ हजार २सय ९ कर्मचारीको पहिलो रोजाइ प्रदेश र २७ हजार ४ सय ६१ कर्मचारीले स्थानीय तहलाई पहिलो प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ। समायोजन फाराम भर्दा कर्मचारीहरूलाई ४–५ वटा विकल्प छान्ने अवसर दिइएको थियो। करिब १० हजार निजामती कर्मचारीले भने समायोजन फाराम भरेका छैनन्।

यता संघीय मन्त्रालयले फागुनभित्र समायोजनको सबै काम गरिसक्ने दाबी गर्दै आएको छ। निजामती किताबखानाका अनुसार हाल ८९ हजार कर्मचारी कार्यरत छन्। जसमध्ये करिव ३ हजार दरबन्दी रिक्त रहेको मन्त्रालयको भनाइ छ। पछिल्लो ओएनएम रिपोर्टामा संघमा ४७ हजार ९ सय २० दरबन्दी कायम गरिएको छ। यसैगरी, प्रदेशमा २२ हजार ८ सय ९५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी आवश्यक पर्ने देखाइएको छ।

यता सरकारले सचिवबाट समायोजनको काम थालनी गरेको छ। संघीय मन्त्रालयले ५६ सचिवलाई समायोजनको चिठी दिइसकेको छ भने ६ सय ६२ सहसचिवलाई बिहीबार–शुक्रबारसम्म समायोजन गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता अधिकारीले जनाए। उनले भने, ‘सहसचिवको समायोजनका लागि हामीले मन्त्रिपरिष्दमा प्रस्ताव पठाएका छांै। मन्त्रिपरिषद्ले निर्णय गर्नेबित्तिकै सहसचिवको समायोजन गर्छौ।’ सरकारले शुक्रबार–आइतबारसम्म उपचसचिवलाई पनि समयोजन गरिसक्ने उनले बताए। उनले भने, ‘आगामी फागुन ३ भित्र समायोजनको सबै काम सक्ने हाम्रो योजना छ।’ उपसचिवलाई इन्टरनेटमै समायोजनको चिठी राख्ने तयारी मन्त्रालयले गरेको छ। समायोजन महाशाखाका एक कर्मचारी भन्छन्, ‘उहाँहरू (उपसचिव) ले आफ्नो समायोजनको चिठी नेटबाटै डाउनलोड गर्न सक्ने व्यवस्था मिलाएका छौं।’

संघीय सरकारले प्रदेशमा समायोजन हुने कर्मचारीलाई सम्बन्धित प्रदेशको प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय तथा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा पठाउने छ। संघको हकमा भने संघीय मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयले खटनपटन गराउने छ। प्रदेशमा पठाइएका कर्मचारीको खटनपटन र कामकाज गराउने जिम्मेवारी सम्बन्धित प्रदेशका मुख्यमन्त्रीलाई दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ। यसैगरी स्थानीय तहमा पठाइएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले खटनपटन गर्नेछन्। सरकारले समायोजनको प्रक्रिया ढिलो सुरू गर्दा करिब २ वर्ष देखि प्रदेश र स्थानीय तहमा काजमा कर्मचारी खटाउँदै आएको छ।

प्रकाशित: २४ माघ २०७५ ०२:०१ बिहीबार

समायोजन कर्मचारी संघीय_मन्त्रालय काठमाडाैं_महानगरपालिका