राजनीति

‘भेनेजुएला प्रकरणले आवश्यकताभन्दा बढी चर्चा पायो’

फाइल तस्बिर

काठमाडौँ - भेनेजुएला प्रकरणलाई लिएर अनावश्यक विवाद गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आरोप लगाएका छन्। ‘यसलाई आवश्यकताभन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको छ, भौगोलिक र विविध सम्बन्धका हिसाबले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले नै गर्ने गरी हल्ला भइरहेको छ,’ उनले भने।

सोमबार संवाद चौतारीले राजधानीमा गरेको अन्तरसंवादमा डा. भट्टराईले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर सरकार बनेको बताउँदै विदेश नीतिप्रति पनि प्रतिबद्ध रहेको उल्लेख गरे। कुनै पनि सार्वभौमसत्तासम्पन्न देशमा आन्तरिक समस्या पर्दा समाधानका लागि निर्णय गर्ने अधिकार त्यही देशका जनताले पाउनुपर्छ भन्ने उनको धारण थियो।

पार्टी र सरकारको आआफ्नै सीमा र मर्यादा हुने हुनाले पार्टीको कतिपय धारणलाई सरकारकै आधिकारिक धारणा मान्न नहुने उनको बुझाइ थियो। उनले थपे, ‘नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध छ, कुनै विषयमा सामान्य मतान्तर रहे पनि त्यसले सदियौं देखिको सुमधुर सम्बन्धमा चिसोपना आउँदैन।’    

 

प्रकाशित: २१ माघ २०७५ १०:०६ सोमबार

भेनेजुएला विवाद डा._राजन_भट्टराई