राजनीति

प्रधानमन्त्रीद्वारा पुनर्निर्माण अवलोकन

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रको अवलोकन गरेर त्यस क्षेत्रको सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन्। उनले बुधबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त पाटन दरबार क्षेत्र वरपरको स्मारक पुनर्निर्माणको प्रगतिको अवलोकन गरेका थिए।

‘पाटन दरबार क्षेत्रमा रहेका स्मारकको पुनर्निर्माण सन्तोषजनक रूपमा अघि बढेको रहेछ। पुनर्निर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्छ। सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकता दिइरहेको छ।

पुनर्निर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भूमिका छ,’ प्रधानमन्त्री ओलीले भने। पुनर्निर्माणको प्रगति अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले पाटन दरबार क्षेत्रको उबडखावड बाटोमा झन्डै डेढ घण्टा बिताएउँदै सम्पदा निर्माणमा चाख लिएका थिए।

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनर्निर्माणको अवस्थाका बारेमा नगरप्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए।

प्रकाशित: ३ माघ २०७५ ०३:४८ बिहीबार

प्रधानमन्त्री केपी_शर्मा_ओली पाटन_दरबार पुनर्निर्माण