राजनीति

स्वास्थ्य संघहरूको विरोध जारी

काठमाडौं – हालै पारित कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य सेवाका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सही ढंगमा गर्न नसकेको विरोधमा प्रदर्शनमा उत्रिएका स्वास्थ्य संघहरूले सोमबार पनि विरोध कार्यक्रम जारी राखेका छन्। एक सातादेखि विरोधमा उत्रिएको हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (हान)ले सोमबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। एक सातादेखि राजधानी केन्द्रित विरोध प्रदर्शनकै क्रममा आइतबार प्रहरी दमनबाट आधा दर्जन हेल्थ असिस्टेन्ट घाइते भएका थिए भने दश जनालाई प्रहरीले पक्राउ गरेको थियो।

हानले पछिल्लो कर्मचारी अध्यादेशले स्वास्थ्य संस्थामा पदीय योग्यता नभई स्तरवृद्धिको आधारमा प्रमुख तोक्ने व्यवस्थाले प्राज्ञिक तथा दक्ष सीपयुक्त जनशक्तिलाई मर्का परेकोमा आपत्ति जनाएका छन्। अध्यादेशले स्वास्थ्य संस्था तथा स्वास्थ्यचौकीमा हुने प्रमुख तहको आधारमा हुने प्रावधान राखेको छ। सरकारी स्वास्थ्य संस्थामा करिब ४५ सय जना तीन वर्षे प्राज्ञिक तथा व्यहारिक हेल्थ असिस्टेन्ट कोर्ष गरेका कर्मचारी र करिब ७ हजार १५ महिने हेल्थ असिस्टेन्ट कोर्ष गरेका कर्मचारी कार्यरत छन्। नयाँ व्यवस्थाले तीन वर्षे कोर्ष अध्ययन गरेका अहेबलाई भन्दा अन्यलाई प्रमुख तोक्ने स्थिति रहेको हानले जनाएको छ।

विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले सोमबार नै हानलाई वार्तामा बोलाएको थियो। पहिलो चरणको छलफल भए पनि वार्ता निष्कर्षमा पुग्न बाँकी रहेकोले विरोध जारी राहेको हानले जनाएको छ। ‘हाम्रो माग निष्कर्षमा नपुगेसम्म विरोध जारी रहन्छ, आज हाम्रो कुरा राख्ने काम मात्र भयो,’ आन्दोलन टोलीका संयोजक कृष्णा खत्रीले नागरिकसँग भने। कर्मचारी समायोजन प्रक्रियाले सरकारी चिकित्सकलाई मर्का परेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन जारी राखेका छन्। सरकारको कर्मचारी समायोजनले चिकित्सकलाई प्रदेशअन्तर्गत राख्ने प्रावधान गलत रहेको ठहर गरेको छ। यी दुवै प्रावधान हटाउनुपर्ने भन्दै उनीहरुले नौ दिनदेखि विरोध जारी राखेका छन्। सोमबार पनि सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले वीर अस्पतालमा विरोध प्रदर्शन गरेको छ।

प्रकाशित: १ माघ २०७५ ०३:११ मंगलबार

कर्मचारी_समायोजन_अध्यादेश चिकित्सक सरकार विरोध