राजनीति

करीब ५१ हजारले रोजे समायोजन

काठमाडौँ– कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन्।

बुधबारसम्म समायोजनका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएको छ। यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो सङ्ख्याले फाराम भरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन्।

अनलाइन फारामका २४ घण्टा नै खुला गरिएको छ। उनका अनुसार सङ्घमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ। सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारीको समायोजन गर्दैछ।

उपसचिव निरौलाका अनुसार ७० हजार ३५७ अनलाइन फाराम भरेकामध्ये १९ हजार ३५ ले फाराम भरेपछि रोज्न बाँकी छ। सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको समाचार स‌ंस्था राससले उल्लेख गरेको छ।

यसअघि नागरिक नेटवर्कको कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजन फर्म नभर्ने कर्मचारीलाई फर्म भरेसरह मानेर सरकारले समायोजनमा लग्ने बताएका थिए। (हेर्नुहोस् भिडियो अन्तरवार्ता)

प्रकाशित: ३० पुस २०७५ १३:१० सोमबार

कर्मचारी_समायोजन लालबाबु_पण्डित