नेपालगन्ज - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संस्थागत रुपले नचल्दा मुलुकमा कम्युनिष्ट हाबी भइरहेको जिकिर गरे।
‘यसरी कतिदिनसम्म पार्टी चल्छ ?’ उनले प्रश्न गर्दै भने ‘बोलौं त पार्टी विभाजन गर्न थाल्यो भनेर आरोप लाग्छ, नबोलौं त पार्टीको अवस्था नाजुक बन्दै गएको छ।’ पार्टीलाई आम कार्यकर्ताले नै सुधार गर्नुपर्ने उनले बताए। कम्युनिष्टको जगजगीलाई नियन्त्रण गर्नको लागि कांग्रेस प्रभावशाली पार्टीको रुपमा स्थापित हुनुपर्ने उनको भनाइ छ।
पार्टीलाई संस्थागत रुपमा चलाउने नेतृत्वको आवश्यकता रहेको बताउँदै उनले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको बताए। ‘अध्यारो कोठामा गरेको निर्णय उज्यालो हुन सक्दैन, पार्टीको केन्द्रबिन्दुमा लागेर अगाडी बढ्नुपर्याे, पार्टीलाई सिस्टममा अगाडी बढाउन समस्या हुदैन,’ उनले भने। व्यक्तिवादी चरित्र हावी हुँदा कांग्रेसको अवस्था खस्किएको सिंहको बुझाई छ। ‘पार्टीलाई केन्द्रबिन्दुमा नराख्दा के हुन्छ भन्ने कुराको अनुभुती त हामीले तीन वटा निर्वाचनमा गरिसकेका छौं, अझैपनि पार्टीलाई संस्थागत गर्न सकिएन भने पार्टीको अवस्था कस्तो होला?’ उनले भने। पार्टी सरकार र सत्तामा हुँदा गरेका कतिपय अलोकप्रिय निर्णयको परिणामले पनि विगतको निर्वाचन हार्नुपरेको नेता सिंहको विश्लेषण छ।
अर्को प्रसंगमा उनले हरेक वर्षमा हुनुपर्ने महासमिति बैठक बल्ल तीन वर्षपछि भएको बताउँदै भने, ‘महासमिति बैठक त भयो, तर बैठक भयो भनेर चित्त बुझाउने बाहेक अरु केही हुन सकेन।’ पार्टीको संशोधित विधानले ७ वटै प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा समिति गठन गर्ने बाटो खोल्ने उनले बताए।
प्रकाशित: २८ पुस २०७५ १२:२३ शनिबार