राजनीति

प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध प्रहरीमा उजुरी आएपछि...

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध धर्म परिवर्तन कसुर गरेको आरोपमा आएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ। 

प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको र सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोख्रेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन खोजेका थिए। तर परिसर प्रमुख एसएसपी बसन्त लामाले दर्ता नगरी फर्काइदिए।

प्रधानमन्त्री ओली र युपिएफ नेपाल अध्यक्ष ढकालले एसिया प्यासिफिक समिट नेपालमा गराएर नेपाली नागरिकलाई क्रिश्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने प्रयास गरेको भन्दै कारबाहीको माग गर्दै अधिवक्ता पोखरेल उजुरी लिएर प्रहरी परिसर पुगेका थिए। 

प्रहरीले उजुरी नलिएकोबारे जानकारी दिँदै अधिवक्ता पोखरेलले भने, ‘धर्म परिवर्तनको मतियार भएर नेपालको संविधानविपरित काम गर्नेलाई कारबाही माग गर्दा प्रहरीले ‘यहाँ राजनीति गर्न आउने’ भन्दै फर्काए।’
काठमाडौं प्रहरी प्रमुख लामाले भने रीत नपुगेकाले उजुरी दर्ता नगरेको बताए। 

प्रकाशित: १८ मंसिर २०७५ १२:३८ मंगलबार

केपी_शर्मा_ओली प्रहरी उजुरी