राजनीति

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत - समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दा पनि पूरा भएको छैन। विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेन्द्रनगरका केही वडा पनि उज्यालोबाट वञ्चित छन्।

२०७२ असार १४ गते विभिन्न १५ गाउँमा विद्युतीकरणको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदार गोविन्द पुनले दुईपटकसम्म म्याद थप गराए । डेढ वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट सल्यानको बनगाढ–कुपिन्डे नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि भने उनी सम्पर्कमा छैनन्।

विद्युतीकरणको ठेक्का लिएका ठेकेदार गोविन्द पुनले आफूले सकारेको ठेक्काको काम त गरेनन् गरेनन्, सल्यानको बनगाढ–कुपिन्डे नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पद र शक्तिको आडमा उल्टै धम्क्याउन थालेका छन्।

२०७२ मंसिरमा सम्पन्न गर्ने भनी पुनले एक करोड ४२ लाख २५ हजार ४ सय रुपैयाँमा विद्युत् प्राधिकरणसँग सुर्खेतमा विद्युत् विस्तारसम्बन्धी दुईवटा ठेक्का सम्झौता गरेका थिए । सम्झौतालगत्तै ठेकेदार पुनले एड्भान्स पेमेन्ट ग्यारेन्टी (एपिजी) बापत १४ लाख १० हजार रुपैयाँ भुक्तानी लगिसकेका छन् । ‘नगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिसम्म ठेकेदार सम्पर्कमा आउँथे’, नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका एक कर्मचारीले भने, ‘निर्वाचित भइसकेपछि हामीलाई टेर्न छोडे।’

प्राधिकरणले ठेक्काको प्रगति विवरणसहित सम्पर्कमा आउन पुनलाई पटकपटक ताकेता गरेको छ तर उनी पद र शक्तिको दुरुपयोग गर्दै उनी सम्पर्कमै आउन मान्दैनन् । ‘अहिलेसम्म २० भन्दा बढी ताकेता पत्र पठाएका छौं’, विद्युत् प्राधिकरण सुर्खेतका प्रमुख सुरज भण्डारीले भने, ‘न सम्पर्कमा आएका छन् न पत्रको जवाफ नै दिएका छन्।’

प्राधिकरणले पटकपटक फोनबाट पनि ताकेता गरेको छ । प्राधिकरण स्रोतका अनुसार उनी कहिले मन्त्रीको नाममा त कहिले राजनीतिक पहुँचवालाको नाममा ‘धम्की’ दिन्छन् । ‘हाम्रो आग्रहमा उनी मन्त्री र पहुँचवालाको हवाला दिँदै उल्टो धम्की दिन्छन्’, एक कर्मचारीले भने, ‘सिंगो नगरपालिकाको नेतृत्वमा रहेको जिम्मेवार व्यक्तिले यस्तो धम्की दिँदा पनि कुनै कारबाही गर्न सकिएको छैन।’

सम्झौताअनुसार पुनले २०७२ पुस १४ गतेभित्रै प्याकेज–१ मा १२ किलोमिटर ३ सय मिटर र प्याकेज–२ मा १७ किलोमिटर ९ सय मिटर विद्युतीकरण गर्नुपर्ने थियो । दुवै प्याकेजको प्रगति शून्य छ । ठेक्का सम्झौता गरेयता पुन फिल्डमा आएका छैनन् । प्राधिकरणका अनुसार प्याकेज–१ अन्तर्गत साविकको जर्बुटा गाविसमा १२, दहचौरमा ११, दशरथपुरमा १०, लेखफर्सामा ३६, सहारेमा ३३, छिन्चुमा २६, नेटामा ३४, साटाखानीमा ४८ र कल्याणमा ३६ वटा पोल गाडेर विद्युत् लाइन विस्तारको काम गर्नुपर्ने थियो । यसका लागि पुनले ५८ लाख ५५ हजार ७६१ रुपियाँ ४७ पैसामा प्राधिकरणसँग सम्झौता गरेका थिए।

यस्तै प्याकेज–२ अन्तर्गत पश्चिम सुर्खेतको कुनाथरीमा ६०, लेखपराजुलमा ४१, रतु–अवलचिङमा ७६, हरिहरपुरमा २३, रतुमा ५२ र गढीमा ४५ विद्युतका पोल र तार विस्तार गर्नुपर्ने थियो । यसबापत पुनले ८३ लाख ७० हजार ७३ रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता गरेका थिए।

ठेकेदार पुनले फर्म भाइको नाममा नामसारी गरिसकेकाले पछिल्लो प्रगतिको बारेमा आफूलाई जानकारी नभएको बताए । ‘एक वर्ष भयो फर्म भाइको नाममा गरिसकेको छु’ उनले भने, ‘अहिले कहाँ के काम भइरहेको छ, मलाई जानकारी छैन ।’ उनले छ महिनामा सम्पन्न गर्ने गरेर विद्युत् विस्तारको ठेक्का लिए पनि प्राविधिक कारणले काम गर्न नसकेको स्वीकार गरे । ‘कतिपय प्राधिकरण र केही व्यक्तिगत कारणले उति बेला काम गर्न सकिएन’, उनले भने, ‘अहिले मेरो नाममा फर्म नभएकाले यससम्बन्धी केही पनि जानकारी छैन ।’ उनले आफ्ना भाइ डिल्ली पुनको नाममा फर्म नामसारी गरेको जानकारी दिए पनि सम्पर्क नम्बर भने दिन मानेनन्।

प्रकाशित: १ मंसिर २०७५ ०२:०१ शनिबार

मेयर ठेक्का