रुपन्देही - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आइतबार भेट गरेका छन्। भेटमा लुम्बिनीसँग जोडेर प्रदेशको विकास कसरी गर्ने भन्ने विषयमा केन्द्रित छलफल भएको छ। लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए।
भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव यहाँ पनि काम लाग्ने बताए । उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले राजदूतमार्फत चिनियाँ सरकारप्रति धन्यवाद पनि व्यक्त गरेका थिए। उनले चिनियाँ रेल काठमाडाैं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुसी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे।
भेटमा राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताए। लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे। उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराए। राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गरेका छन्।
प्रकाशित: २६ कार्तिक २०७५ ०१:३४ सोमबार