राजनीति

कांग्रेसको चियापानमा दाहालले भने : फेरि राष्ट्रिय एकता आवश्यक छ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुँदै अध्यक्ष दाहालले राष्ट्रिय एकता आजको आवश्यक भएकाले सबैले माहोल बनाउनुपर्ने बताए। 

‘राष्ट्रिय एकताले जुनसुकै समस्या समाधान हुन्छ। हिजोदेखि आजसम्मका घटनाले देखाइसकेको छ’, उनले भने, ‘संविधान बन्न एकता नै चाहियो। फेरि पनि देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय एकता आवश्यक छ। त्यसका लागि सबैले माहोल बनाउनुपर्छ।’ 

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालको भनाईमा समर्थन गर्दै देशमा राष्ट्रिय एकता आवश्यक भएको बताए। उनले भने, ‘राष्ट्रिय एकता आवश्यक छ। पहल गर्ने जिम्मेवारी चाँही सत्तारुढ दलको हो।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वास्तविक प्रतिपक्षी सानेपामा भेटिएको भन्दै खुसी व्यक्त गरे। ‘प्रतिपक्षी खोजिराखेका थियौं आज सानेपामा भेट्यौ। खुसी लागेको छ’, खनालले भने, ‘कांग्रेस अव्यवस्थित पार्टी भन्थे, चियापानले व्यवस्थित देखायो।’ 

कांग्रेस मात्र होइन सबै दल सुध्रिनुको विकल्प नभएको भन्दै नेता खनालले थपे, ‘दलहरु सुध्रेर देशलाई अगाडि बढाउनुपर्छ। आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ।’ 

एक लाख जनालाई आमन्त्रित गरिएको कांग्रेसको चियापानमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायत कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न दलका नेता कार्यकर्ता र कांग्रेस नेता कायकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। 

चियापान समारोहमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालाले पाहुनालाई उभिएर स्वागत गरेका थिए। सहभागिका अनुसार विगतको भन्दा यसपटकको चियापान व्यवस्थित र सभ्य थियो। 

प्रकाशित: १६ कार्तिक २०७५ १२:१९ शुक्रबार

कांग्रेस चियापान पुष्पकमल_दाहाल राष्ट्रिय_एकता