राजनीति

अन्नपूर्ण संरक्षण क्षेत्रमा हेलिकप्टर रोक्न र पदयात्रा शुल्क घटाउन माग

पोखरा– गण्डकी प्रदेशका सांसद राजिव पहारीले अन्नपूर्ण संरक्षण क्षेत्रमा बढाइएको पदयात्रा शुल्क फिर्ता लिन माग गरेका छन्। 

प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्र भ्रमण गर्ने चुनावी प्रतिबद्धताअनुसार लान्द्रुक र घान्द्रुक भ्रमणमा रहेका सांसद पहारीले संरक्षण क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउन र पदयात्रा शुल्क घटाउन माग गरेका हुन्।

सरकारले भर्खरै राजपत्रमा सूचना प्रकाशित गरी संरक्षण क्षेत्रको प्रवेश अनुमति शुल्क वृद्धि गरेको छ। निर्णयअनुसार विदेशीलाई शुल्क वृद्धि मात्र नभई आन्तरिक पर्यटकलाई पहिलोपटक शुल्क लाग्ने भएको छ। जसको यहाँका पर्यटन व्यवसायी र विदेशी पर्यटक लगायत स्थानीयले चौतर्फी विरोध गरिरहेका छन्। विदेशी पर्यटकले त ठाउँ ठाउँ पैसा लिएको गुनासो गरेका छन्। 

यसैक्रममा यहाँबाट निर्वाचित सांसद पहारीले अन्नपूर्ण पदमार्गमा ठाउँ पिच्छे लिइने शुल्क हटाउन माग गरेका हुन्। अन्नपूर्ण ७ लान्द्रुकमा क्युप्चे बराह युवा क्लबद्वारा आयोजित अन्नपूर्ण लान्द्रुक भलिबल मेलाको उद्घाटन गर्दै उनले भने, ‘अन्नपूर्ण आधार शिविर (वेश क्याम्प)मा हेलिकप्टर उडानमा रोक लगाउनुपर्छ। प्दयात्रामा जाँदा ठाउँ पिच्छे शुल्क तिर्ने व्यवस्था पनि हटाउनुपर्छ।’

यो विषयलाई प्रदेशसभामा पनि उठाउने उनको भनाई छ। ‘ठाउँ पिच्छे शुल्क तिर्नपर्यो भने पर्यटक आउँदैनन्। पोखराको पर्यटन व्यवसाय नै धरासायी हुन्छ। हेलिकोप्टरबाट वेश क्याम्प जाने र त्यहाँबाट हेलिकप्टरमै काठमाडौं जाने हो भने  को पर्यटक आउँछ पदयात्रामा?’ उनले प्रश्न गरे।

विरामी भएका पर्यटकका लागि हेलिकप्टर प्रयोग गर्ने बाहेक अन्य प्रयोजनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन उनले माग गरे।

कार्यक्रममा उनले सबै पक्ष विकास र समृद्धिको यात्रामा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। वर्तमान संघ र प्रदेश सरकारलाई विभिन्न तरिकाबाट घेराबन्दी गर्ने प्रयास भएको भन्दै विकास र समृद्धिको लक्ष्यमा सरकार सफल भएरै छाड्ने जिकिर गरे। सांसद पहारी चुनावी प्रतिबद्धताअनुसार दशैं मनाउन छाडेर आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा छन्। उनले यहाँका जनगुनासा सुन्ने र सम्बोधनका लागि पहल गर्न गाउँ भ्रमणमा रहेको बताएका छन्। 

प्रकाशित: ७ कार्तिक २०७५ १२:३७ बुधबार

राजिव_पहारी अन्नपूर्ण_संरक्षण_क्षेत्र पदयात्रा_शुल्क