राजनीति

खुम्चिँदै साना दलको भूमिका

काठमाडाैं - प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाइको बलियो सरकार गठनसँगै साना दलको भूमिका र अस्तित्व संसद्, सरकार र सडकमा कमजोर बन्न पुगेको छ। पहिलो र दोस्रो संविधानसभामा प्रभावकारी भूमिकामा रहेका साना दलको भूमिका अहिले खुम्चिन पुगेको हो।

सरकार परिवर्तनमा समेत आफ्नो हैसियत राख्ने साना दलका नेताहरू यसबेला चुपचाप छन्। निर्वाचनपछि केही दलले फाट्टफुट्ट कार्यक्रम गरेका छन् भने केही दल चुनावपछि सेलाउन थालेका छन्। खासगरी प्रदेशसभामा समेत प्रतिनिधित्व नगरेका साना दल निस्क्रिय हुन थालेका हुन्। प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मात्र राष्ट्रिय दलका रूपमा प्रतिनिधित्व छ। प्रदेशसभामा राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति, विवेकशील साझा, राष्ट्रिय जनमोर्चा र नेमकिपा र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी फोरमको प्रतिनिधित्व छ । नेमकिपाको प्रदेश ३, राजमोको प्रदेश ४, नयाँ शक्तिको प्रदेश ४, राप्रपा (प्रजातान्त्रिक)को ३, नेपाल संघीय समजवादी फोरम नेपालको प्रदेश २, राप्रपाको प्रदेश ३ मा उपस्थिति छ । प्रदेशसभामा उपस्थिति जनाएका साना दलहरूले आफ्ना गतिविधि भने जारी राखेका छन्।

नेकपा नेतृत्व सरकारले प्रष्टसँग बहुमत ल्याएकाले साना दलहरूको भूमिका कमजोर बन्दै गएको हो। त्यसमा थ्रेसहोल्डका कारणबाट साना दल खुम्चिएका हुन्। गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि अधिकांश साना दलले एक्लै सहभागिता जनाएनन्।

विवेकशील साझा पार्टीले गत असोज १५ देखि ९० दिने संगठन विस्तार अभियान सुरू गरेको जनाएको छ। सो पार्टीका केन्द्रीय नेताहरू यतिबेला जिल्ला जिल्लामा छन्। पार्टीका प्रवक्ता रमेश पौडेलले भन्छन्, ‘सबैभन्दा बढी कार्यक्रम गर्ने विवेकशील साझा पार्टी नै हो। हामी जसरी सक्रिय छौं, यस्तो सक्रियता ठूला पार्टीहरूको पनि छैन।’ पार्टीको संगठन विस्तार अभियान निकै प्रभावकारी बन्दै गएको उनले दाबी गरे। यस्तै दाबी नयाँ शक्तिका नेताहरूको पनि छ। नयाँ शक्ति पार्टीका हेडक्र्वाटर सदस्य गंगा श्रेष्ठले पार्टीले यतिखेर ७ वटै प्रदेशमा संगठन विस्तार अभिायन सुरू गरेको बताए। आगामी कात्तिक महिनाभरि जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सकेर मंसिरबाट केन्द्रीय महाधिवेशनको तयारी सुरू गर्ने उनले बताए। उनले भने, ‘हामी चुप लागका छैनाैं। पार्टीले गतिविधि तीव्र बनाएको छ।’ नयाँ शक्ति पार्टीको महाधिवेशन आगामी फागुन १० देखि १५ सम्म हुँदैछ।

यसैगरी हिन्दु धर्म र राजतन्त्रको अजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन महिनाबाट हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखी देशव्यापी संघर्षमा उत्रने जनाएको छ। रापपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले अहिले थप ५० हजार सक्रिय सदस्य बनाउने अभिायनमा जुटेको दाबी गरे। ‘अब हामी ठूलो तयारीका साथ संघर्षमा उत्रँदै छौं। त्यसपछि रापपाको शक्ति सबैलाई थाहा हुन्छ,’ उनले भने।

प्रदेश ३ को प्रदेशसभामा प्रतिनिधित्व गरेको राप्रपा (प्रजातान्त्रिक ) भने यतिखेर चुपचाप छ। सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डले दसैं र तिहारपछि पार्टीले सक्रियता बढाउने बताए। उनले भने, ‘अहिले हामी चुपचाप छाैं। तिहारपछि सक्रिय हुनेछौं।’

साना पार्टीको भूमिका यसअघि सत्ता परिर्वतनमा समेत निर्णय हुने गथ्र्यो । यसअघि संसद्मा कुनै एक पार्टीले बहुमत नल्याउँदा साना दलको महत्व बढेको थियो। तर, यसपटक नेकपा नेतृत्व सरकारले प्रष्टसँग बहुमत ल्याएकाले साना दलको भूमिका कमजोर बन्दै गएको हो। त्यसमा थ्रेस होल्डका कारणबाट साना दल खुम्चिएका हुन्। अधिकांश साना दलले गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि एक्लै सहभागी हुन सकेनन्।

यसअघिको संसद्मा प्रतिनिधित्व गरेका अधिकांश साना दल ठूला पार्टीसँग एकीकृत भइ चुनाव लडे भने एकीकृत नभएका पनि आफूआफूमा मोर्चाबन्दी गरी चुनाव लडे । भक्तपुरमा प्रभाव जमाएको नेमकिपा भने एक्लै चुनाव लडेको थियो । अन्य साना पार्टी तालमेल गरी चुनाव लड्ने प्रयास अन्तिम समयसम्म गरे। राष्ट्रिय पार्टी हुन ३ प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड लागू भएपछि साना दलहरू ठूला पार्टीसँग एकीकृत हुन प्रयास गरेका थिए। ठूला पार्टीसँग एकीकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिह्न लिएर चुनाव लड्ने तयारी गरेका छन्। चुनावअघि नेकपा(संयुक्त) तत्कालीन माओवादी केन्द्रमा विलय भएको थियो भने विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक चुनावअघि नै नेपाली कांग्रेससँग एकीकृत भयो । यसैगरी प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र लोकमणि ढकालको जनजागरण पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका थिए। एकनाथ ढकालको परिवार दलले पनि सूर्य चुनाव चिह्न लिएर गत प्रतिनिधिसभा चुनावमा गएको थियो।

यसैगरी यसअघिको संसद्मा रहेका तत्कालीन ६ मधेस केन्द्रित दल एकृीकत भई गठन गरिएको राजपा नेपालले समेत संघीय फोरमसँग तालमेल गरी चुनाव लडेको थियो। चुरेभावर राष्ट्रिय एकता पार्टी चुनावअघि नै एमालेसँग एकीकृत भएको थियो। निर्वाचन आयोगको रेकर्डमा गत संसदीय र प्रदेशसभा चुनाव प्रयोजनका लागि ९१ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । अघिल्लो संसद्मा एक स्वतन्त्र सांसदसहित २४ दल दर्ता भएका थिए। ४ वटा पार्टीको मात्र प्रतिनिधित्व रहेको प्रतिनिधिसभामा हाल राप्रपा र नयाँ शक्तिको भने स्वतन्त्र हैसियतमा एक/एकजनाको उपस्थिति छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App