राजनीति

प्रतिपक्षीप्रति सरकार असहिष्णु

रुकुम मग्मामा कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको भलिबल प्रतियोगिता रोक्न परिचालन भएका प्रहरी । तस्बिर: नागरिक

रुकुम – रुकुम (पश्चिम) बाँफीकोट गाउँपालिका ६ मग्मा गाउँ सोमबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय युवा र प्रहरीबीचको झडपले स्थानीय त्रसित थिए । यो विवादको विषय नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको भलिबल प्रतियोगितासँग जोडिएको थियो।

नेपाली कांग्रेस निकट खेलकुद संघले गरेको उक्त प्रतियोगिताकाधमा स्थानीय सरकार बाँफीकोट गाउँपालिका उत्रियो । उसकै आग्रहमा स्थानीय प्रशासनले कार्यक्रमका लागि अनुमति नलिईएको भन्दै खेलकुद प्रतियोगिता बन्द गरिदियो । कात्तिक ३ गतेदेखि सुरु प्रतियोगिता प्रहरी लगाएर बन्द गरिदिएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी तथा स्थानीय दिनभर प्रहरीसँग भिडे।

‘हामीले ३ गतेदेखि प्रतियोगिता सुरु गरेका थियौं,’ प्रतियोगिता मूल आयोजक समितिका संयोजक टीकाराम खनालले भने, ‘तर कांग्रेसको कार्यक्रम भएकै कारण प्रतियोगिता सुरु भएको दुई दिनपछि बिथोलियो ।’ प्रशासनले कार्यक्रम बन्द गरिदिएपछि प्रतियोगिताका लागि सुर्खेत, सल्यान, दाङलगायत जिल्लाबाट आएका २८ समूहका खेलाडी अलपत्र छन्।

संघले आयोजना गरेको कार्यक्रम बन्द भए पनि सोही गाउँमा नेकपाको संलग्नतामा उस्तै कार्यक्रम भने चलिरहेको छ । नेकपाका कार्यकर्ताहरुको अगुवाइमा प्रगतिशील युवा क्लबको आयोजनामा भैरहेको भलिबल प्रतियोगिता भने निर्बाध चलिरहेको छ । ‘लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको भ्रातृ संगठन हो, पार्टीको कार्यक्रम गर्नका लागि अनुमति नचाहिनुपर्ने हो, फेरि हामीहरुले स्थानीय सरकारबाट अनुमति माग गरेका पनि हौं, तर दिइएन,’ खनाल भन्छन्, ‘तर नेकपाको अगुवाइमा उस्तै भलिबल प्रतियोगिता निर्बाध चलिरहेको छ, त्यहाँ कुनै हस्तक्षेप छैन, यसले रुकुममा स्थानीय सरकारको प्रतिपक्षीप्रतिको दम्भ प्रकट भएको छ।’

त्यसो त स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि खेलकुद कार्यक्रम आयोजना गर्नका लागि स्थानीय सरकारसँग अनुमति लिनुपर्ने विषय कतै उल्लेख गरेको छैन । प्रतियोगितामाथि प्रशासनबाट भएको हस्तक्षेपबारेमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसंग छलफल समेत गरेको थियो । उनले प्रतियोगिता सञ्चालन हुनै नदिने अडान लिए । प्रजिअ रेग्मीले लोकतान्त्रिक संघले प्रतियोगिता सञ्चालनका लागि अनुमति नलिएकाले कार्यक्रम गर्न दिन समस्या भएको बताए । एकै स्थानमा दुईवटा उस्तै कार्यक्रम राखिएकाले पनि सुरक्षा चुनौती बढी देखिएको उनले बताए।

खेलकुद प्रतियोगितामा स्थानीय सरकारबाट भएको हस्तक्षेप रुकुम जिल्लाको एउटा उदाहरण मात्रै हो । राजनीतिक आस्थाले लिप्त यहाँका स्थानीय सरकारहरु सामाजिक विषयहरुमा हस्तक्षेप गर्न उत्रिएका उदाहरण कैयन छन् । आफू अनुकुलका कुनै पनि कार्यक्रम नभए स्थानीय सरकारले सफल हुनै दिँदैनन् । प्रहरी प्रशासन प्रयोग गरेर ठाडै हस्तक्षेप गर्छन्।

मुसिकोट नगरपालिका १ सल्लेस्थित राप्ती समाज अस्पतालले गत असोज ८ देखि १० गतेसम्म अस्पताल परिसरमै स्वास्थ्य शिविर आयोजना गर्यो । उक्त स्वास्थ्य शिविरको कर्णाली प्रदेशका सांसद रातो कामीले उद्घाटन गरेका थिए । पहिलो दिन स्वास्थ्य शिविर सञ्चालन भयो । तर दोस्रो दिनदेखि शिविर एकाएक बन्द भयो । ‘पहिलो दिन स्वास्थ्य शिविर राम्र्रोसँग सञ्चालन भयो,’ अस्पताल सञ्चालक समितिका उपाध्यक्ष महेन्द्र केसीले भने, ‘अर्को दिन उपचारमा संलग्न चिकित्कहरुलाई दबाब आयो, अनि शिविर बन्दै भयो ।’ केसीका अनुसार अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासनबाट शिविर सञ्चालनको अनुममित लिएको थियो । उक्त अनुमतिअनुसार शिविर सञ्चालन भए पनि अर्को दिन जिल्ला जनस्वास्थ्य कार्यालयलाई शिविर बन्द गर्नका लागि दबाब आएको केसी बताउँछन् । उक्त दबाबपछि जनस्वास्थ्य कार्यालयले शिविर बन्द गर्नका लागि अस्पताललाई पत्राचार गरेको थियो।

पश्चिम रुकुममा नेकपाका नेता जनार्दन शर्माको एकछत्र पकड छ । शर्मा हाबी यो जिल्लामा शर्मा र उनीनिकटस्थ बाहेकका निर्णयहरु गौण बन्ने गरेका छन् । विपक्षी दलको कार्यक्रम मात्रै नभई शर्मा समूहले आफ्नै पार्टीका फरक समूहले आयोजना गरेका कार्यक्रमहरुमा समेत हस्तक्षेप गरेका उदाहरण रुकुममा छन्।

केशव रावल तत्कालीन माओवादी निकटस्थ अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् । उनले गत वैशाखमा रुकुममा पर्यटन तथा सांस्कृति महोत्सवको आयोजना गर्दै थिए । मुसिकोट नगरपालिका कार्यालयबाट महोत्सव सञ्चालनको अनुमति लिए । महोत्सवमा नेकपा नेता जनार्दन शर्मा सहभागी हुने योजना बन्यो । तर शर्माले आफ्नो व्यस्तताको कारण देखाउँदै केही दिनका लागि सार्न भने । पाँच दिनपछि महोत्सव गर्नेगरी वैशाख २७ देखि महोत्सवको नयाँ मिति तोकियो । ‘महोत्सवका लागि सम्पूर्ण तयारी गरिसकेका थियौं,’ रावलले भने, ‘पुरानो मितिभन्दा पाँच दिन सारेर महोत्सव आयोजना गर्ने पक्कापक्की भैसकेको थियो ।’ यता नगरपालिकाले पहिले दिएको अनुमति रद्द गरिदियो।

नगरपालिकाबाट प्राप्त अनुमति रद्द भएपछि रावलले १ नम्बर वडा कार्यालयबाट अनुमति लिए । ६ दिनसम्म महोत्सव चल्यो पनि । यो बीचमा नगरपालिको पटक पटक महोत्सव रोक्नका लागि आयोजक र प्रहरी प्रशासनलाई पत्राचार गर्यो । अन्ततः प्रहरी प्रशासनले बल प्रयोग गरेरै महोत्सव रोकिदियो । रावले ३५ लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको समेत सुनाए । ‘स्थानीय सरकारका नाममा रुकुममा ज्यादती भैरहेको छ,’ उनले भने, ‘सीमित केही व्यक्तिहरुले चाहेको खण्डमा मात्रै कुनै पनि व्यापार व्यवसाय वा सामाजिक कार्य गर्न पाइन्छ, नत्र यो सम्भवै छैन।’

अटो रिक्सा सञ्चालन हुन नदिनु रुकुममा भएको सत्ता पक्षको ठाडो हस्तक्षेपको अर्को बलियो उदाहरण छ । रुकुम यातायात प्रालिले गत जेठमा अटो रिक्सा सञ्चालन गरेको थियो । झण्डै महिना दिन जति अटो रिक्सा सञ्चालन भए । तर एकाएक प्रहरीले अटो रिक्सा चालकहरुलाई धरपकड गर्न थाल्यो । रिक्सा चालकहरु त्रस्त बने र रिक्सा चलाउनै छोडे । ‘मुसिकोट नगरपालिकाले नगरपालिकाबाट अनुमति नलिएको भन्दै प्रहरी परिचालन गरेर चालकमाथि धरपकड गर्यो,’ यातायात प्रालिका अध्यक्षसमेत रहेका रावलले भने, ‘यो पनि मन नपरेको मान्छेले चलाए भनेरै रिस साँधिएको हो ।’ नगरपालिकाले भने अटो रिक्सा सञ्चालनमा नगरपालिकाले अवरोध नगरेको दाबी गर्छ । उपमेयर प्रेमकुमारी सुनार केसीले अटो रिक्सा नगरपालिकाबाट नभई प्रशासनबाटै अवरोध भएको हुन सक्ने बताइन् । ‘अटो रिक्सा नगरपालिकाबाट नभई प्रशासनले रोकेको जस्तो लाग्छ,’ उनले भनिन्।

स्वास्थ्य शिविर सञ्चालनमा भएको अवरोध भने नगरपालिकाबाट भएको उनले स्वीकारिन् । तर स्वास्थय शिविरमा दक्ष चिकित्सकले उपचार नगरेको भन्ने जानकारी आएपछि रोकिएको उनले बताइन् । ‘दक्ष चिकित्सक नभई पढ्दै गरेकाले उपचार गरेको भन्ने जानकारी आएपछि त्यो शिविर रोकिएको हो,’ उनले भनिन्, ‘अन्यथा त्यो शिविर रोक्नुपर्ने अरु कुनै कारण थिएन।’

रुकुममा स्थानीय सरकारको ज्यादती मौलाएको मुसिकोट बहुमुखी क्याम्पस खलंगाका उपप्राध्यापक हरिविष्णु ओली बताउँछन् । स्थानीय सरकारको कार्यशैलीले सर्वसाधारणहरु आजित बनेको टिप्पणी गर्दै उनले भने, ‘समाजलाई हित हुने वा फाइदा हुने खालका क्रियाकलापमा समेत ठाडो हस्तक्षेप हुनु राम्रो हैन,’ उनले भने, ‘समाजलाई हित हुने काम गर्दा कसैसँग अनुमोदन गराइरहनु पर्दैन तर स्थानीय सरकारका नाममा अहिले यस्ता सामाजिक कार्यहरुमा समेत बाधा पुर्याइएको छ।’

स्थानीय, प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा कमजोर बनेको नेपाली कांग्रेसले सत्तापक्षले अनावश्यक दुःख दिने काम गरिरहेको आरोप लगाएको छ । कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले स्थानीय सत्ताको प्रयोग गरेर कांग्रेसलाई सिध्याउने प्रयास भैरहेको बताए । ‘स्थानीय सत्ताको गलत प्रयोग भैरहेको छ, रुकुममा यो लामो समयदेखि चल्दै आएको समस्या हो,’ उनले भने, ‘जसरी पनि कांग्रेसलाई सिध्याउने भन्ने मानसिकता बोेकेका स्थानीय सरकारका प्रमुखहरु राजनीतिक आग्रहपूर्वाग्रहका आधारमा चलेका छन्।’

प्रकाशित: ६ कार्तिक २०७५ ०२:१६ मंगलबार

झडप भलिबल_प्रतियोगिता