राजनीति

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

काठमाडाैं- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाएको बताएका छन्।

बुधवार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै खरेलले गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको जानकारी गराए।

“गम्भीर प्रकृतिका कसुरमा पीडित पक्षलाई चाँडो न्याय दिलाउन द्रुतगतिमा फैसला गर्न भनेका छौँ,” उनले भने। उनले नयाँ मुलुकी संहितामा समेटिएका नयाँ विषयवस्तुबारे कर्मचारीलाई तालिम दिइने जानकारी दिए। 

नायब महान्यायाधिवक्ता खगराज पौडेलले नयाँ भवन बनेसँगै न्याय सम्पादनमा सहयोग पुग्ने बताए। नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले महान्यायाधिवक्ताको कार्यालय र बार मिलेर न्यायप्रणालीमा सुधार गर्नुपर्ने बताए। उनले छरिएर रहेका अनुसन्धानलाई संविधान संशोधन गरेर भए पनि एकीकृतरुपमा महान्यायाधिवक्ता मातहतमा ल्याउनुपर्ने बताए। 

प्रकाशित: २४ आश्विन २०७५ ०८:४१ बुधबार

महान्यायाधिवक्ता अग्निप्रसाद_खरेल गम्भीर_प्रकृतिका_मुद्दा