राजनीति

‘संघीय सरकारले प्रहरी प्रशासन हस्तान्तरण नगरे आफैं स्थापना गर्छौं’

लहान- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन्। 

सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताए। 

सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए। 

प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उनले उल्लेख गरे। 

प्रकाशित: २४ आश्विन २०७५ ०६:१० बुधबार

प्रदेश_नम्बर २ लालबाबु_राउत प्रहरी_प्रशासन