राजनीति

वडाध्यक्षको मोटरसाइकल चलाउन ड्राइभर

काठमाडौं – राज्यका उच्च ओहोदामा पुगेका नेता तथा अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होइन। तर गुल्मी इस्मा गाउँपालिका–२ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाइकल चालक सुविधा लिएका छन्। उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाइकल चालक भर्ना गरेका छन्।

गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु१ब १४८० नम्बरको मोटरसाइकल प्रयोग गर्दै आएका छन्। मोटरसाइकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका छन्। जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला जनप्रतिनिधिले नै मोटरसाइकल चालक भर्ना गरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाइकलमा राखेर उनले भनेको ठाउँमा पु-याउनु हो। नियुक्तिपत्रमा भने घिमिरेको पद कार्यालय सहयोगी भनिएको छ। घिमिरेलाई कार्यालय जानु पर्दैन। कार्यालय समय वा अन्य समयमा उनको काम वडाध्यक्षको मोटरसाइकल चलाउनु हो। वडाध्यक्ष रेश्मीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाले केही महिनाअघि खरिद गरेको हो । गाउँपालिकाले वडाध्यक्षहरूका लागि एकएकवटा मोटरसाइकल किनेको छ । यसैगरी प्रमुख/उपप्रमुखका गाडी खरिद गरिएको छ।

वडाध्यक्ष रेश्मीले आफूसँग लाइसेन्स नभएकाले घिमिरेलाई चलाउन लगाएको बताए । उनले भने, ‘गाउँपालिका कार्यालय जाँदा मोटरसाइकल चढ्नुपर्ने हुन्छ । हिँडेर जान कठिन हुन्छ। मैले आफैं मोटरसाइकल चलाउन सक्दिनँ । लाइसेन्स पनि छैन। त्यसैले कार्यालय सहयोगीलाई मोटरसाइकल चलाउन लगाउँछु ।’ वडाध्यक्ष रेश्मीको सिफारिसमा घिमिरेलाई कार्यालय सहयोगी नियुक्त गरिएको हो। वडाध्यक्षले मोटरसाइकल चालक भर्ना गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा बेनामी उजुरी परेको छ। सतर्कता केन्द्रले कारबाहीका लागि त्यो उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ। केन्द्रले पनि छानबिन गरिरहेको एक कर्मचारीले बताए । जनप्रतिनिधिका अनियमितता विषयमा केन्द्रले आफैं सजाय गर्न सक्दैन। यसका लागि केन्द्रले अख्यितार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्नुपर्छ।

भारतीय नम्बर प्लेटमा मेयर
बारा सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छन्। उनी काठमाडौं आउँदासमेत बिआरओएसएस ३१५ नम्बरको गाडी चढ्छन्। स्रोतका अनुसार मेयर यादवसँग एउटा नेपाली नम्बर प्लेट र अर्को भारतीय नम्बर प्लेटको गाडी छ । तर उनले धेरैजसो भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छन्।

आफूले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने उनले स्विकारे। कानुनसम्मत रूपमा सबै प्रक्रिया पु¥याएर भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘सबै प्रक्रिया पूरा गरेर भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छु । सोही गाडीमा चढेर काठमाडौं पनि जान्छु।’

प्रकाशित: १२ आश्विन २०७५ ०३:०३ शुक्रबार

मोटरसाइकल ड्राइभर जनप्रतिनिधि