राजनीति

‘भारतीय सेनाप्रमुखको अभिव्यक्तिको उद्देश्य नेपाललाई अधिनमा राख्ने नै हो’

काठमाडौं– मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय सेना प्रमुख विपित रावले दिएको अभिव्यक्तिको विरोध गरेका छन्। 

महामन्त्री सिंहले मंगलबार विज्ञप्ति जारी गरी नेपाल र भुटानजस्ता देशहरु भारतभन्दा टाढा जाननसक्ने र भारतप्रति नै झुकाव राख्नुपर्ने सेनाप्रमुखको अभिव्यक्ति भारतले दशकौंदेखि नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिलाई पुष्टि गरेको उल्लेख गरेका छन्।

‘उनीहरुले सधैं यो कुरामा जोड दिंदै आएका छन् कि नेपालले सधैं भारतपरस्त नीति नै अपनाउनु पर्दछ। त्यस सन्दर्भमा उनीहरुको प्रयत्न संधै रहने गरेको छ कि भारतीय परराष्ट्र नीति वा सुरक्षा नीतिको सीमाबाहिर गएर कुनै देशसित स्वतन्त्र प्रकारले सम्बन्ध विस्तार गर्ने नेपाललाई कुनै अधिकार छैन्’, मसालले भनेको छ। 

विस्तारवादी नीतिअन्तर्गत नै विम्स्टेकको संयुक्त सैन्य सम्मेलनमा भाग लिन अस्वीकार गरेको र चीनसितको संयुक्त सैनिक अभ्यासमा भाग लिएको कार्य उनीहरुको लागि असह्य भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेना प्रमुख समेतको त्यस प्रकारको अभिव्यक्तिले प्रकट र बाह्य रुपमा उनीहरुले जतिसुकै मैत्रीपूर्ण कुरा गरेपनि उनीहरुको वास्तविक उद्देश्य नेपाललाई आफ्नो अधिनमा राख्ने नै हो भन्ने कुरामा कुनै शंका रहन्न।’

मसालले भारतको त्यस प्रकारको विस्तारवादी नीतिविरुद्ध आवाज उठाउन र उच्च प्रकारको सर्तकताको नीति अपनाउन देशभक्त शक्ति, राजनीतिक दल, संघसंस्था, व्यक्तित्व, आम जनता र सरकारलाई अपिल गरेको छ। 

प्रकाशित: २ आश्विन २०७५ १५:२३ मंगलबार

भारतीय_सेनाप्रमुख नेपाल_कम्युनिष्ट_पार्टी_(मसाल) विस्तारवादी_नीति