राजनीति

मन्त्रालय खाली गरेर विदेश भ्रमण

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्। मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन्। मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् । बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन्।

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन्। उनी असोज ५ मा फर्कने कार्यक्रम छ। मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन्। निजी सचिव मनोज राई मन्त्रीसँगै चीन भ्रमण गएका छन् भने निजी सचिव रमेश अधिकारी जर्मन भ्रमणमा गएका छन्।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित चीनको छेन्दु गएका हुन्। उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू गएका छन्। यसैगरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भूपाल बराल गत साता इन्डोनेसिया गएका छन्। मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल जर्मनी भ्रमणमा छन्। नगरपालिकाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन उनी जर्मनी पुगेका हुन्। उनीसँगै मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम पनि जर्मन पुगेका छन्। सोमबार मात्र मन्त्रालयको एउटा ठूलो टोली चीन भ्रमण गरेर काठमाडौं फर्केको छ। सो टोलीमा उपसचिवद्वय ऋषि आचार्य र भोला गुरागाईं सहभागी थिए। यसैगरी मन्त्रालयका ४ शाखा अधिकृत पनि उपसचिवको टोलीसँगै मंगलबार काठमाडौं फर्केको छ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले सामान्य प्रशासनमन्त्रीबाट स्वीकृति गराएर मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जाने गरेको बताए। प्रधानमन्त्रीको कार्यालयलाई जानकारी मन्त्रीतहबाट हुने गरेको पनि उनले प्रस्ट पारे।

प्रकाशित: २ आश्विन २०७५ ०१:३१ मंगलबार

सामान्य_प्रशासन_मन्त्रालय विदेश_भ्रमण लालबाबु_पण्डित