राजनीति

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई

काठमाडौं - तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो । घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै भए पनि त्यसलाई सहयोग गर्न काठमाडौंबाट अनुसन्धान टोली पठाइएका थिए।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कञ्चनपुर प्रहरीले माग्ने साधानस्रोत उपलब्ध गराउने गरी अनुसन्धान गर्ने जिम्मा दिइएको बताए। ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन्। हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो। अनुसन्धान र मुद्दा उतैबाट चल्छ’, उनले भने। उनका अनुसार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले अनुसन्धान सुरु गरिसकेका छन्।

कञ्चनपुर प्रहरीले घटनासँग सम्बन्धित सबै प्रमाण नष्ट गरेको आरोप लागेको छ। आन्दोलन चर्कंदै गएपछि त्यसबेला जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा रहेका सबै प्रहरी अधिकारी निलम्बनमा परेका छन्। एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानकुमार सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ। त्यसैगरी कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउन खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीलाई पनि निलम्बन गरिएको छ। बिष्टलाई भने भदौ ९ गते नै निलम्बन गरिएको थियो।

निलम्बित प्रहरीमाथि छानबिन गर्न डिआइजी नेतृत्वमा समिति
निर्मला हत्या अनुसन्धानमा त्रुटि गरेपछि निलम्बनमा परेका पाँचजना प्रहरी अधिकृतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नेतृत्वमा समिति बनाएको छ। ती प्रहरीले अनुसन्धान गर्दा लापारबाही गरेको पाइएपछि यथार्थ बाहिर ल्याउन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति बनाएको हो। यसअघि सोही प्रकरणमा छानबिन गर्न केन्द्रबाट तोकिएका एसएसपी उत्तम सुवेदी नेतृत्वको समिति पनि बस्न्यातको समितिमा गाभिएको छ।

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार प्रहरी अनुसन्धान कहाँ चुक्यो र के हुनुपथ्र्यो भन्ने विषयमा छानबिन गर्न डिआइजी नेतृत्वमा समिति बनेको हो। उनका अनुसार घटनापछि अनुसन्धानमा संलग्न सबै प्रहरीलाई प्रधान कार्यालय हाजिर गराई बयान लिन थालिएको छ। ‘यो प्रक्रिया आइतबार सुरु भएको छ। अनुसन्धानका कमजोरी पत्ता लगाउने र दोषी साबित भए कारबाही गर्ने अधिकारसमेत डिआइजी नेतृत्वको समितिलाई दिइएको छ’, क्षेत्रीले भने।

पोलिग्राफ टेस्ट लिइने
प्रहरी प्रधान कार्यालयले निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेका विवादास्पद प्रहरीहरूको पोलिग्राफ टेस्ट गर्ने भएको छ। निलम्बित एसपी बिष्ट र अन्य प्रहरीको अनुसन्धान गतिविधिमाथि सर्वसाधारणले शंका गरेपछि उनीहरूको पोलिग्राफ टेस्ट गर्ने निर्णय भएको प्रधान कार्यालयले जनाएको छ। कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख बिष्टमाथि स्थानीयले शंका गरेपछि उनलाई केन्द्रमा तानेर कुवेर कठायतलाई पठाइएको थियो। एसपी बिष्ट, उनका छोरा किरण र भूपेन्द्र बिष्ट (भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका दाइ) का छोरा आयुषको डिएनए परीक्षणमा पठाइएको छ।

अनुसन्धान शृंखला
घटनालगत्तै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्टले अनुसन्धान गरेका थिए। उनलाई सघाउन केन्द्रीय अनुसन्धान ब्युरोको टोली निर्मलाको शव भेटिएको अर्को दिन साउन १२ गते कञ्चनपुर पुग्यो। त्यसको नेतृत्व डिएसपी जिसीले गरेका थिए । उनको टोलीले निर्मलाको ‘भेजिनल स्वाब’ लाई सुरक्षित गरी अनुसन्धान अघि बढाएको थियो। भेजिनल स्वाब सुरक्षित गरेकै कारण अहिले शंकास्पद सबैको डिएनए परीक्षण भइरहेको छ। जिसीकै टोलीले आशंकित दिलीप बिष्टलाई पक्राउ गरी कञ्चनपुर प्रहरीलाई जिम्मा लगाएको थियो। त्यसपछि एसपी बिष्टले दिलीपलाई दोषीका रूपमा उभ्याएपछि ब्युरोको अनुसन्धानप्रति पनि स्थानीय असन्तुष्ट बनेका थिए।

आन्दोलन चर्कन थालेपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते छानबिन समित बनाएर कञ्चनपुर पठायो। सो टोलीले शनिबार गृह मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन बुझाएको छ। मैनालीको टोलीसँगै ब्युरोका एसएसपी ठाकुर ज्ञवाली नेतृत्वमा पनि एउटा टोली कञ्चनपुर पुगेर फर्केको थियो। दिलीपको डिएनए परीक्षण हुँदा निर्मलाको भेजिनल स्वाबसँग नमिलेपछि उनलाई रिहा गरिएको छ।

आइजिपीसँग याचना
कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आएका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीसहित महिला अधिकारकर्मीले प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई भेटी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। ‘लापरबाही प्रहरी प्रशासनले गरेको हो, अनुसन्धान फितलो भएको हो, पीडितले बोलाउँदा पनि समयमै प्रहरी नआएको हो, कञ्चनपुर प्रहरीले प्रमाण नष्ट गर्दा अपराधी पत्ता लगाउन विलम्ब भएको हो, हामीले आइजिपीलाई यही कुरा भन्यौं,’ काठमाडौं आएकी कञ्चनपुर नागरिक संघर्ष समिति संयोजक मीना भण्डारीले नागरिकसँँग भनिन्, ‘आइजिपी खनालले दोषी पत्ता लगाएर कारबाही गर्छौंं।’

प्रकाशित: १ आश्विन २०७५ ००:४८ सोमबार

निर्मला_हत्या_प्रकरण अनुसन्धान प्रहरी