राजनीति

तीन डिआइजीको बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

सरकारले एआइजीको नयाँ दरबन्दी कायम गरेपछि गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले मंगलबार राति डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धिरू बस्न्यातलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। प्रहरीमा ३ जना एआइजीका लागि ५ जना डिआइजी प्रतिस्पर्धी थिए। सिफारिसमा नपरेका दुईजनामा मनोज न्यौपाने र सुरेशविक्रम शाह छन्।

सिफारिसमा परेका तीनजनालाई बढुवा गर्न मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव राख्नेछ। हाल डिआइजी कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, राई लागूऔषध नियन्त्रण ब्युरो र बस्न्यात प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्। प्रहरी नियमावली २०७१ को नियम २७ (१–क) अनुसार एआइजी बढुवा समितिमा गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहने व्यवस्था छ।

प्रकाशित: २८ भाद्र २०७५ ०३:५३ बिहीबार

गृह_मन्त्रालय नेपाल_प्रहरी